शुक्रबार, पुस ११, २०८२

सम्झौताको २७ महिनापछि सुरु भयो राहुघाट सबस्टेसन निर्माण

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-३ राहुघाटमा ठेक्का सम्झौता भएको २७ महिनापछि सबस्टेसन निर्माण सुरु भएको छ।

National life

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ विमबाट रघुगंगा-३ राहुघाटको अम्वाङ जोड्ने एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एन्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।

जनप्रतिनिधि र सरोकारवालाको दबाब तथा आयोजनाको ताकेतापछि ठेकेदार कम्पनीले २७ महिनापछि राहुघाटमा सबस्टेसनको काम थालेको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए।

'धेरै प्रयासपछि ठेकेदारले सबस्टेसन निर्माण थालेका छन्', उनले भने, 'हाल दैनिक एक सय ५० जना मजदुर परिचालन गरेर काम भइरहेको छ।' २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जीआईएस प्रविधिको राहुघाट सबस्टेसनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम थालिएको उनले जानकारी दिए।  

अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो। सबस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्योलमा परेको थियो।

Laxmi sunrise bank
kumari

ढिलै भए पनि सबस्टेसन निर्माण सुरु भएकामा जलविद्युत् आयोजनाका प्रवर्द्धक आशावादी बनेका छन्। तीस महिना ठेक्का अवधि भएको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ५० प्रतिशत रहेको आयोजना प्रमुख अग्रवालले बताए। 

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन बनाउन लागिएको हो। १३३/३३ केभी, ३० एमभिए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ।

डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो। दुवै ठाउँका सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसके पनि प्रयोगमा ढिलाइ हुँदा बिग्रने जोखिम बढेको प्राविधिकले बताएका छन्।

करिब २५ किलोमिटर दुरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७९ वटा टावरमध्ये हालसम्म १२ वटा निर्माण सकिएका र ३८ वटा निर्माणाधीन रहेका आयोजनाले जनाएको छ। रघुगंगा-३, बेनी नगरपालिका-९ र १०, मंगला गाउँपालिका-१, मालिका-६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन्।

दुवै ठाउँमा यसअघि नै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भइसकेका छन्। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन्। 

राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन्।

पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्। रासस

प्रकाशित: May 15, 2024| 20:01 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्