शुक्रबार, पुस ११, २०८२

विद्युत् अवरुद्ध हुँदा हुम्लाका तीन बस्ती अन्धकारमा

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

National life
Laxmi sunrise bank
kumari

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकाको एउटा बस्ती आइतबारदेखि अन्धकारमा छन्। नाम्खा–३ को लामाखोल्सी र खगालगाउँ तथा सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ लामाखोल्सी र खगालगाउँ बीचको खोलामा रहेको विद्युत गृहमा मेसिनको फित्ता चुँडिदा विद्युत् सेवा अवरुद्ध भएको हो। 

फित्ता चुँडिएर विद्युत् सेवा अवरुद्ध भएसँगै तीन बस्तीका झण्डै दुई सय ८० परिवार अन्धकारमा बस्न बाध्य भएको नाम्खा–३ खगालगाउँका रिक्जिन लामाले बताउनुभयो। आइतबार साँझ फित्ता चुँडिदा यहाँका बासिन्दा बिजुलीबाट वञ्चित छन्। खगालगाउँमा ९०, लामाखोल्सीमा ३० तथा सिमकोट– ८ को खोल्सी गाउँमा एक सय ६० परिवारको बसोबास छ। नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले चुँडिएको फित्ता मर्मतका लागि पहल भइरहेको बताए। 

तीन बस्तीका लागि २८ किलोवाट क्षमताको छोइपुग लघुजलविद्युत् आयोजना निर्माण गरिएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा विद्युतीय माध्यमबाट सञ्चालित सम्पूर्ण कार्य प्रभावित भएका छन्। स्थानीयले सल्लाको दियालो (झोरो) को प्रयोग गर्नुपर्ने बाध्यता छ। यहाँ हिल्दुम जलविद्युत् आयोजनाको लाइन विस्तार हुन नसक्दा समेत समस्या भएको उपाध्यक्ष लामाले बताए।

प्रकाशित: May 14, 2024| 18:31 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्