सोमबार, भदौ ८, २०८३

गर्मी छल्न जाने कि नरपानी ?

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

अर्घाखाँची- नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ। यहाँबाट धेरै हिमाल देख्न पाइन्छ। मनमोहक दृश्यहरु देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन्।

तराईमा बढेको तातो गर्मी छल्न अहिले तराईका जिल्ला तथा भारतका उत्तर प्रदेश, विहार विभिन्न क्षेत्रबाट मानिसहरु आउने गरेका छन्। 

तातो क्षेत्रबाट यस स्थानमा आएपछि चिसो हावा र चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउदा घुम्न आउने पर्यटकहरु पनि प्रफुल्लित हुने गरेका छन्। पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी वनभोज स्थलको रुपमा पनि विकसित हुँदै गएको छ। 

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा, पाठीहरु लिएर नरपानीमा वनभोज गर्ने गर्दछन्।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ।

सुपा मन्दिरको शिरमा जान सकिने केवुलकार र साहसिक पदमार्ग बनाउन सके  यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउँछन्।

सुपाको पूर्वमा रहेको भैँसी मेलामा मन्दिर बनाएर केबलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्न पहल भइरहेको उनको भनाइ छ।

महेन्द्र राजमार्गको गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा नरपानी रहेको छ। गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरु बढी आउने गरेका छन्।

यहाँ वरिपरि हरियाली डाँडा र बीचमा समथर भूभाग रहेको छ। भविष्यमा पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।    -रासस 

प्रकाशित: May 14, 2024| 07:01 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्