सोमबार, भदौ ८, २०८३

वर्षाले मूल फुट्ने आश

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

महोत्तरी- गर्मी बढेर पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका बेला एक साताभित्रै दुईपटक वर्षा भएपछि महोत्तरीमा सर्वसाधारणले राहत महसुस गरेका छन्। वैशाखको अन्तिम साताको प्रारम्भ र अन्त्यतिर दुईपटक पानी परेपछि अब पानीका स्रोतका रुपमा रहेका मुहान रसाउने सर्वसाधारणले आश गरेका हुन्।

घामको रापले खानेपानीका इनार, चापाकल र खोल्सीका जरुवा सुकेपछि जिल्लाका धेरैजसो बस्तीमा खानेपानीको हाहाकार नै पर्लाजस्तो भइसकेको छ। यसैगरी पोखरी, नदी र खोल्साखोल्सी स्याप्पै सुकेपछि गाईबस्तुलाई पानी खुवाउन, आहाल बसाउन र चर्को घामले घाँसपात डढेपछि चरनको पनि समस्या बढिरहेकामा पानीले सर्वसाधारणमा अब मुहान रसाउने आश जागेको हो।

‘यसै साताको सुरुमा पनि एक दिन राम्ररी नै पानी पर्‍यो, आज पनि बिहानैदेखि सिमसिम पानी परिरहेको छ, यसले सुख्खा माटोमा चिस्यान भर्ने र पानीका स्रोतका मुहान रसाउने आश छ’ भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय रामजुलुम बाँतर भन्छन्, ‘यो पानीले चउर र पर्तीजग्गामा घाँस पलाउला, यसपछि अलि राहत पाइएला।’

अहिले जिल्लाभर नै पानीका स्रोतका रुपमा रहेका मुहान सुक्दै गएका छन्। जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा खानेपानीको हाहाकार नै परेको छ।

‘र्हेनोस् न, हाम्रो यो वडाका पाँच टोलबस्तीभित्र ३०० को हाराहारी चापाकल होलान्, कुनैमा पानी झर्दैन’ भङ्गाहा–४ का पूर्व वडाध्यक्ष अशोककुमार महतो भन्छन्, ‘इनारमा पनि बाल्टिन डुब्न छोडेको छ, खै थोरै पानी त पर्‍यो, अब मुहान रसाउँछ कि १’ आफ्नो वडाका रामनगर, प्रेमनगर, थारुटोल बनरा, पलार र टोका बस्तीका करिब पाँच सय घरधुरीबीच चार-पाँचवटा इनारबाट खानेपानीको जोहो भइरहेको महतोको भनाइ छ।

एक साताभित्रै दोस्रोपटक पानी परेपछि यसको सकारात्मक प्रभाव फलफूल, तरकारी र मकै, कोदोसहितका अन्नबालीमा पनि परेको छ। यो साताको पहिलो वर्षालगत्तै सुक्नै लागेको मकै फेरिएको छ। अब चाहिँ मकैमा घोगा लाग्ने आश जागेको बर्दिबास–७ मनहरिपुरकी किसान मुना खत्री बताउँछन्।

पछिल्लो साताको दोस्रो वर्षाले आँप, लिची, रुख कटहरलगायतका फलफूलका रुखका जालो र आँपमा लाग्ने मधुवा कीरा पखालिएको किसान बताउँछन्। अब फलफूलका चिचिला, पोटिला र भरिला हुने गौशाला–१२ कालीपुरका महेश्वर महतोको आश छ।

यसैगरी घामको रापले ओइल्याउँदै गएका लहरे तरकारी वर्षापछि लहलहाउन थालेको देखिएको छ। वर्षाले अहिले माटोमा राम्रो चिस्यान भएको हुँदा मकै छर्ने, कोदो र धानको ब्याड राख्न अनुकूलता भएको किसानको भनाइ छ। वैशाख मसान्तताकाको यो वर्षाले पानीका स्रोतका मुहान रसाउने र बालीनालीमा अनुकूल प्रभाव पारेपछि किसानलाई अब खडेरीको मारमा नपरिने विश्वास जागेको छ।

प्रकाशित: May 12, 2024| 15:09 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्