काठमाडौं- काठमाडौंको बत्तीसपुतलीमा एक युवकको ज्यान जाने गरी भएको घटना सामान्य विवादमा भएको खुलेको छ। काठमाडौं महानगरपालिकाको बत्तीसपुतलीस्थित कुमारी मन्दिर जाने गल्लीमा शनिबार राति करिब साढे ७ बजेतिर दुई पक्षबीच झडप भएको थियो।
झडप हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृतक मोरङ घर भई विजयचोक क्षेत्रमा बस्ने २४ वर्षीय शम्भु धिमाल हुन्। उनीसँगै रहेका सोही ठाउँमा बस्ने २३ वर्षीय मनिष चौधरी घाइते छन्।
प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जनाले आफूहरु १८ वर्ष मुनिका रहेको दाबी गरेका छन्। यसबारे प्रहरीले भेरिफाइ गर्ने काम गरिरहेको छ। उनीहरुको बयानअनुसार चार जनाको समूह बाटोमा हिँडिरहेको थियो। विपरीत दिशाबाट शम्भु र मनिष आइरहेका थिए। त्यसबीच उनीहरू एकआपसमा ठोक्किएका थिए। त्यही निहुँमा उनीहरूबीच विवाद भएर झडप भएको हो।
चार जनाको समूहमा रहेका तीन जनाले मादक पदार्थ सेवन गरेका थिए। प्रहरी टोलीले सडकमा लडिरहेका शम्भु र मनिषलाई गाडीमा हालेर केएमसी अस्पताल लगेको थियो। शम्भुको उपचारको क्रममा मृत्यु भएको हो। मनिषको भने उपचार भइरहेको छ। उनीहरू दुई पक्षबीच पहिले चिनजान पनि नभएको र कुनै रिसइबी पनि नरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।