सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल प्रफिटका सम्पादक आचार्यलाई ज्यान मार्ने धम्की, पत्रकार महासंघले गर्‍यो निन्दा

नेपाल प्रफिटका सम्पादक आचार्यलाई ज्यान मार्ने धम्की, पत्रकार महासंघले गर्‍यो निन्दा

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- नेपाल पत्रकार महासंघले नेपाल प्रफिट डट कमका सम्पादक डुन्डुराज आचार्य (डीआर) लाई ज्यान मार्ने धम्की दिइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

triton college

महासंघले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै संलग्नहरुमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको हो।

‘प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रफिट डटकमका सम्पादक डुन्डुराज आचार्य (डीआर) लाई नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

२०८१ वैशाख १६ गते सप्रेषित ‘कांगेस नेता र मन्त्रीका पीएको कमाउ धन्धा, दक्षिण कोरिया पठाइदिन्छु भन्दै करिब ४ सय युवाबाट करोडौं असुली’ शीर्षक समाचारलाई लिएर नेविसंघका केन्द्रीय सदस्य भुपेन्द्रसिंह थेवेले ज्यान मार्ने धम्की दिनुका साथै नेविसंघ संखुवासभा सभापति चिरञ्जीवी श्रेष्ठले ‘जे पनि हुनसक्छ’ भन्दै धम्की दिएका थिए।

संप्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने तथा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रचलित प्रावधान रहेको महासंघले स्पष्ट पारेको छ। ‘त्यसलाई बेवास्ता गर्दै नेविसंघ जस्तो जिम्मेवार संघका जिम्मेवार व्यक्तिबाट यस किसिमले धम्क्याएको घटना प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो,’ विज्ञप्तिमा भनिएको छ।

corrent noodles
Metro Mart

पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता अपराधिक मनसाययुक्त कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्वाध, निर्भिक र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघले माग गरेको छ।

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको ख्याल गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।

यसैबीच, श्रमजीवी पत्रकार संघ नेपालले पनि एक विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए कानुनी उपचारमा जान सकिने तथा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रचलित प्रावधानलाई बेवास्ता गर्दै नेविसंघ जस्तो जिम्मेवार संघका जिम्मेवार व्यक्तिबाट यस किसिमको धम्की आउनु प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै अत्यन्त निन्दनीय हर्कत भएको संघले जनाएको छ।

संघका अध्यक्ष जन्मदेव जैसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्नमाथि कानुनीबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

प्रकाशित: May 10, 2024| 17:22 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्