शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ३२ अर्बको व्यापार हुने विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउँदै सरकार

३२ अर्बको व्यापार हुने विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउँदै सरकार

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं- सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ। 

National life

केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने बताए। उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानि गर्ने बताए।

उनले सुर्ती सेवनको गेट–वेका रुपमा विद्युतीय चुरोट रहेकोसमेत बताए। 'विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ। यसले निकोटिनको लत बसाउने काम गर्दछ,' उनले भने, 'त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट–वेका रुपमा रहेको छ।' विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेभरमा आउने गरेको छ। भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार ६ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल भित्रिएको छ। तीमध्ये ३१ लाख ७५ हजार ८ सय १५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आएको छ। यस्तै अमेरिकाबाट २ लाख ६५ हजार ६ सय ४०, संयुक्त अरब इमिरेट्सबाट १२ हजार ९ सय ६७ थान आएको छ। भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब रुपैयाँबराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ। ५ वर्षयता नेपालमा विद्युतीय चुरोटको आयात २सय गुणाले वृद्धि भएको छ।

प्रकाशित: May 07, 2024| 14:46 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्