शुक्रबार, पुस ११, २०८२

वर्षाले निभाउला डढेलो ?

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं- लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको वन डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ।

National life

सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउनसक्ने सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन्।

मौसमविद्हरुले पनि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै राम्रो वर्षाको सम्भावना रहेको बताए। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले अहिले पनि लुम्बिनी, कोशी प्रदेश तथा काठमाडौं आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिए।

उनका अनुसार अझै आगामी तीन दिनसम्म वर्षाको सम्भावना छ। “बिहीबारसम्म नै वर्षाको सम्भावना छ, २४सै घण्टाको मौसमी अवस्था विश्लेषण गर्दा गण्डकी प्रदेशका बागलुङ, स्याङ्जालगायतका जिल्लामा भारी वर्षा भएको छ, आजका लागि भने गण्डकी, लुम्बिनी, प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ”, उनले भने, “आज अपराह्नमा भने काठमाडौं उपत्यकामा हावाहुरी चट्याङसहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन जरुरी छ।”

यो वर्षाले केही दिनका लागि डढेलो नियन्त्रणमा सहज हुने बताउँछन् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविद् सुन्दर शर्मा। “लामो समयसम्मको सुक्खाका कारण मुलुकका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको थिएन”, उनले भने, “अब पानी पर्न सुरु भएको छ, पूर्वका धेरैजसो डढेलो नियन्त्रणमा आए पनि पश्चिमको बाँकी नै छ। वर्षासँगै डढेलो नियन्त्रणमा आउला भन्ने विश्वास छ तर ढुक्क भएर बस्नु हुँदैन।”

Laxmi sunrise bank
kumari

शर्माका अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना हुन्छन्। “८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन्। चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छन्। यस कारण अहिले हामी उच्च जोखिमको समयमा छौं”, शर्माले भने, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ।”

प्रकाशित: May 07, 2024| 14:39 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्