शनिबार, पुस १२, २०८२

यार्सा संकलन १० जेठदेखि खुला हुने

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

डोल्पा- हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन  गर्न खुला गरिने भएको छ।

National life

प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वनको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न खुला गरिने प्रजिअ दाहालले जानकारी दिए। 

बैठकले यार्सा सङ्कलन गरिने क्षेत्रमा सुरक्षाकर्मी परिचालन एवं स्वास्थ्य शिविर आयोजना गरिने निर्णयसमेत गरेको छ। प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका यार्सा सङ्कलन गर्न बीसौँ हजार सर्वसाधारण पुग्ने गर्दछन्। डोल्पाका यार्सा पाटन वन क्षेत्रमा भन्दा निकुञ्ज क्षेत्रमा धेरै पर्ने गर्दछन्।

यार्सागुम्बा सङ्कलन गर्न पाटन प्रवेशका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था निकुञ्जले गरेको छ।  मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई एक हजार, डोल्पा जिल्लाभित्रका बासिन्दालाई दुई हजार र जिल्ला बाहिरकालाई तीन हजार तोकिएको छ।

निकुञ्ज र वन क्षेत्रका यार्सा सङ्कलन गर्न लुकीछिपी अवैधरुपमा मानिसहरु जाने गरेका छन्। डोल्पामा वैशाखमै यार्सा उम्रिसक्ने भएकाले जुम्ला र डोल्पाका सर्वसाधारण सङ्कलन गर्न जाने बताइएको छ। 

Laxmi sunrise bank
kumari

निकुञ्जले अवैधानिक रुपमा छिरेका ७५ जनालाई पक्राउ गरेर छोडिसकेको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले निकुञ्ज क्षेत्रमा सेनाले नियमित गस्ती गरिरहेको बताए। तोकिएको मितिभन्दा अगाडि पाटन प्रवेश गर्न खोज्ने जो कोहीलाई समातेर कानुनी कारबाही गरिने उनको भनाइ छ। डोल्पाली जनताको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा सङ्कलन गर्नका लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, जुम्लालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा सर्वसाधारण पुग्ने गर्दछन्।

समुद्री सतहबाट तीन हजारदेखि पैँतीस सय मिटर उचाइसम्ममा यार्सा पाइने भएकाले ज्यानको बाजी लगाएर यार्सा टिप्न जानुपर्ने बाध्यता रहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का ज्ञानबहादुर बुढाले बताए। डोल्पामा यार्साको व्यावसायिक रुपमा सङ्कलन सुरु २०४० सालदेखि भएको हो। विसं २०७५ देखियता १२ जना यार्सा सङ्कलकले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सा सङ्कलन इजाजत र छोड पुर्जी वितरणबाट प्रत्येक वर्ष न्यूनतम पचास लाखभन्दा धेरै राजस्व सङ्कलन गर्ने गरेको छ। अघिल्लो वर्षमात्रै छोडपुर्जी र सङ्कलन इजाजत वितरणबाट वितरणबाट निकुञ्जले रु दुई करोड तीन लाख राजस्व सङ्कलन गरेको थियो। सङ्कलकबाट बर्सेनि लाखौं राजस्व उठाए पनि स्वास्थ्य बिमा भने गरिँदैन। 

निकुञ्जले यार्सा टिप्नेबाट राजस्व मात्र लिने र जोखिमको प्रत्याभूति नगर्ने नगर्नु गलत भएको त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सार्कीले बताए। “जिल्लाका प्रत्येक गाउँमा यार्सा टिप्न पाटन जाँदा बर्सेनि धेरैले घर परिवार र अभिभावक गुमाएको अवस्था छ। उनीहरुको जीवनस्तर समेत दयनीय छ, मृतकका छोराछोरी पढ्न पाएका छैनन्। अभिभावक गुमाएकै कारण कलिलै उमेर बाल विवाह गर्न बाध्य छन्, राम्रोसँग खान पाएका छैन, धेरै पीडामा बाँचेका छन्”, उनले भने।

स्वास्थ्य बिमा भएको भए यार्सा सङ्कलन गर्न जाँदा ज्यान गुमाउनेलाई केहीन केही राहत हुने उनको भनाइ छ। डोल्पामा नेपालमै सबैभन्दा धेरै परिमाणमा र गुणस्तरको हिसाबमा राम्रो यार्सागुम्बा पाइने गर्दछ।

प्रकाशित: Apr 25, 2024| 06:54 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्