शनिबार, वैशाख २२, २०८१

यस्तो छ नेपाल-कतार सम्बन्ध र उच्चस्तरीय भ्रमणको फेहरिस्त

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं- कतारका अमिर शेख तमिम विन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार नेपाल आएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा थानी नेपाल भ्रमणमा आएका हुन्। 

triton college

राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थानीलाई स्वागत गरे। त्यसक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए। 

थानी यसअघि बंगलादेशको राजकीय भ्रमणमा थिए। उनी बंगलादेशबाटै नेपाल आएका हुन्। कतारका अमिर थानी र राष्ट्रपति पौडेलबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ। त्यसक्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्ता साझा चासोका मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरे। राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको पनि बताए। 

त्यसक्रममा कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद् वातावरण तयार हुने बताए। कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे। अमिरले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको भन्दै आभार प्रकट गरे। 

उनले दुई देशबीच हुने समझदारी तथा सम्झौताले नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानीको नयाँ सम्भावना बढाउन सक्ने विश्वास व्यक्त गरे। मंगलबार नै कतारी अमिरको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गरेका थिए। 

corrent noodles
Metro Mart

यस्तो छ नेपाल–कतार सम्बन्ध  
नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। नेपालले सन् २००० मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा खोलेको थियो।

राससका अनुसार दुई मुलुकबीच विभिन्न क्षेत्रगत सहकार्यका लागि सम्झौताहरु भएका छन्। तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो। सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौंमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो। 

यद्यपि हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन। दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो। सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा (नागरिक उड्डयन)सम्बन्धी सम्झौता सन् २००२ जुलाइ ८ मा सम्पन्न भएको थियो। त्यस्तै दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा सन् २०११ मा हस्ताक्षर भएको थियो। 

दुई देशका निजी क्षेत्रबीच पनि सहकार्य हुँदै आएको छ। नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। त्यसैगरी, कतारको मुख्य बैंकमध्ये एक दोहा बैंकले सन् २०१८ डिसेम्बरमा काठमाडौंमा सम्पर्क कार्यालय खोलेको थियो। नेपालका उद्यमीहरु कतारमा संगठितसमेत भएका छन्। सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरण (कतार फाइनान्सियल अथोरिटी) मा ‘नेपाली विजनेस एशोसिएसन कतार’ नाममा नेपालीहरु संगठित भएर संस्था दर्ता भएको थियो।

कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो। स्वतन्त्र हुनुअघि कतारले आफ्नो अस्थायी संविधान लागु गरिरहेकामा औपनिवेशिक स्वतन्त्रतापछि उक्त संविधानलाई थप संशोधन र परिस्कृत गरी कार्यान्वयनमा ल्याएको थियो। कतारको शासकीय व्यवस्था, कानुन प्रणाली, कार्यकारी अधिकार तथा शासनको उत्तराधिकारीलगायत महत्वपूर्ण विषयहरु समेटेर सन् १९९९ मा स्थायी संविधानको मस्यौदा निर्माणका लागि समिति गठन गर्न अमिरी आदेश जारी गरियो। कतारले सोही वर्ष अर्थात् सन् १९९९ मा पहिलोपटक केन्द्रीय नगर परिषद्को चुनाव गरेको थियो। यसलाई लोकतन्त्रप्रतिको पहिलो कदमका रुपमा कतारले लिँदै आएको छ।

विभिन्न समयमा दुवै देशबाट उच्चस्तरीय भ्रमणहरु भएका छन्। नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन्। सन् २०२२ मार्च २१ देखि २३ गतेसम्ममा नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार भ्रमणमा गएका थिए। त्यसैगरी सन् २०१९ नोभेम्बर २० देखि २२ गतेसम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कतारको भ्रमण गरेका थिए।   

तत्कालीन सभामुख कृष्णबहादुर महरा सन् २०१९ अप्रिल ६ देखि १० गतेसम्म कतार भ्रमणमा गएका थिए। तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सन् २०१८ नोभेम्बर १३ देखि १४ कतार भ्रमण गरेका थिए।     

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा सन् २०१७ जनवरीमा तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महत कतारको आधिकारिक भ्रमणमा गएका थिए। त्यस्तै तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सन् २०१५ अप्रिल ११ देखि १४ गतेसम्म भ्रमण गरेका थिए। 

कतारका तर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरुमा सन् २०१५ अप्रिल ४ देखि ७ गतेसम्म कतारको श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाह विन सलेह मुबारक अल–खुलाफी नेपाल भ्रमणमा आएका थिए। कतारका वातावरणमन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल–मिधाधी सन् २०१२ अप्रिल ५ देखि ९ गतेसम्म नेपाल भ्रमणमा आएका थिए। कतारका वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानी सन् २००९ मा नेपाल भ्रमणमा आएका थिए। 

नेपाल र कतारबीचको वैदेशिक व्यापारको क्षेत्र पनि विस्तारै बढ्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को चैत मसान्तसम्ममा एक अर्ब ५३ करोडबराबरको आयात र नौ करोड १९ लाखबराबरको निर्यात भएको छ।  नेपालको चिया, कफी, पिउने पानी, मसला, अलैंची, कतार निर्यात हुने गरेका छन् भने कतारबाट धुलो दूध, मह, काजुलगायत ड्राइ फ्रुट, कफीलगायत वस्तुको बढी आयात बढी हुने गरेको छ। रासस

प्रकाशित: Apr 23, 2024| 20:47 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्