आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ३० हजार बढी विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ३० हजार बढी विदेशी पर्यटक

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

गण्डकी- एक महिनामा ३० हजार १ सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार ६ सय ६८ र अन्य देशका १५ हजार ५ सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन्। 

National life

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा. रविन कडरियाले बताए।

'बैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ', उनले भने, 'असोज-कात्तिक र चैत-बैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ।' यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनले बताए।

अघिल्लो वर्ष १ सय ७३ देशका १ लाख ९१ हजार ५ सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए। यो सङ्ख्या हालसम्मकै बढी भएको उनले जानकारी दिए। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।

सन् २०२१ मा १ लाख १६ हजार १ सय ५ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। सन् २०२२ मा १ लाख २९ हजार ७ सय ३३ पर्यटक आएका थिए।

kumari

पछिल्लो समय यो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दै गएको आयोजना प्रमुख कडरियाले बताए। 'पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप-अमेरिकाका पर्यटकको संख्यामा केही कमी आएको देखिन्छ', उनले भने। 

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। 

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ।    -रासस


 

प्रकाशित: Apr 03, 2024| 11:06 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्