बिहीबार, भदौ ११, २०८३

सगरमाथा आरोहणका लागि हालसम्म ६३ आरोहीले लिए अनुमति

 |  मंगलबार, चैत २०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २०, २०८०

काठमाडौं- वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन्।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिए।

हिमाल आरोहणको अनुमतिबापत  हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ। सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ। वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन्।

विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए। यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ।

प्रकाशित: Apr 02, 2024| 18:01 मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्