आइतबार, पुस १३, २०८२

बागलुङमा तीन वर्षमा ५५ दुर्घटना, ४० जनाको मृत्यु

 |  मंगलबार, चैत २०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २०, २०८०

ढोरपाटन- बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ। यस वर्ष १६ जनाले ज्यान गुमाएका छन्।

National life

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म १२ दुर्घटना भएका छन्। त्यसमा ४८ जना घाइते भएका छन्। आव २०७८/७९ मा २३ सवारी साधन दुर्घटना भएका थिए। उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए। गत आव २०७९/८० मा २० दुर्घटना भएका थिए।

दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। तीन वर्षको तथ्यांक हेर्दा हरेक वर्ष दुर्घटना झिनो सङ्ख्यामा घटे पनि मृत्यु र घाइते हुनेको सङ्ख्या भने बढिरहेको छ। पछिल्लो तीन वर्षमा बागलुङमा दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन्भने एक सय १० जना घाइते बनेका छन्।

यस अवधिमा ५५ दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ४९ सवारी साधनमा क्षति पुगेको छ। ट्राफिकले अटेरी गर्ने तथा ट्राफिक नियमको उल्लंघन गर्ने ३८ हजार छ सय १६ सवारी साधनलाई कारबाही गरी दुई करोड ६९ लाख तीन हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

बर्सेनि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको ट्राफिक प्रमुख निउरेको भनाइ छ। उनले चालकको लापरबाही र अप्ठ्यारा सडकका कारण दुर्घटना हुने गरेको बताए। दैनिक ग्रामीण सडकमा सयौँ सवारी साधन गुड्ने तर ती सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको उनी बताउँछन्। तीन वर्षको तुलनामा यस वर्ष थोरै दुर्घटना भए पनि मृत्यु र घाइते हुनेको सङ्ख्या बढी रहेको निउरेको भनाइ छ।

Laxmi sunrise bank
kumari

उनले भने, 'दुर्घटना न्यूनीकरणका लागि हरेक नागरिक सजक हुनुपर्छ, चालक जिम्मेवार, यात्रु अनुशासित भयो भने दुर्घटना निकै कम हुने थियो, हामीहरु दुर्घटनालाई न्यूनीकरण गर्न बिहान उठेदेखि रातिसम्म सडकमै हुन्छौँ, कहिलेकाहीँ चालकले लापरबाही गर्दा गम्भीर दुर्घटना हुने गरेका छन्, सबैभन्दा बढी त गाउँका सडकमा दुर्घटना हुने गरेका छन्, सडक साँघुरा छन्, त्यसमाथि सवारी चालकले क्षमताभन्दा बढी यात्रु बोकेर हिँड्छन्, यसमा अन्य सरोकारवाला पनि गम्भीर हुन जरुरी छ।'

ग्रामीणसँगै राष्ट्रिय राजमार्गमा पनि ठूला-ठूला दुर्घटना हुने गरेका छन्। यही चैत ६ गते पश्मिच रुकुमबाट काठमाडौंका लागि छुटेको बस बागलुङको निसीखोलामा दुर्घटना भयो। दुर्घटनामा सातजनाले घटनास्थलमै र दुईजनाले अस्पतालमा ज्यान गुमाए। दुर्घटनामा परी २६ जना घाइते भए। घाइतेमध्ये अधिकांश अहिलेसम्म निको भएका छैनन्।

दुर्घटनाका कारण भने चालकको लापरबाही रहेको निष्कर्ष छ। दुर्घटना रोक्नका लागि ग्रामीण सडकलाई व्यवस्थित बनाउन जरुरी रहेको यातायात व्यवसायी शेरबहादुर विक बताउँछन्।

उनले साँघुरा र अप्ठ्यारा सडकमा दैनिक सयौँ सवारी तथा मालवाहक गाडी गुड्ने गरे पनि वर्षौँअगाडि ‘ट्र्याक’ खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन नसकेको बताए। बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ। ग्रामीण सडकमा ट्राफिक नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको विक बताउँछन्। रासस

प्रकाशित: Apr 02, 2024| 19:01 मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्