आइतबार, पुस १३, २०८२

अस्तव्यस्त मार्तडी बजार

 |  मंगलबार, चैत २०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २०, २०८०

बाजुरा- जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रमा मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त बनेको छ।

National life

बडीमालिका नगरपालिकाको मार्तडीमा सडक कब्जा गरी राखिएका गिटी, बालुवा तथा अव्यवस्थित तरिकाले रोकिएका सवारीसाधनको उचित व्यवस्थापन नहुँदा बजर क्षेत्र अस्तव्यस्त बनेको हो।

सवारीसाधनका लागि बनाएका सडकमा पैदलयात्रुलाई हिँड्न मुस्किल पर्नेगरी स्थानीयले प्रयोग गर्दै आएका छन्। स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाले सवारीसाधन तथा निर्माण सामग्री सडकमा नराख्न सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन। 

स्थानीय व्यापारी तथा सवारी चालकले जथाभावी सडकमा सवारीसाधन पार्किङ गर्दा नगरपालिकाले प्रभावकारी कदम चाल्न नसकेको स्थानीय लक्ष्मण रोकायाले बताए। 'यसरी जथाभावी सडकमा पार्किङ गर्ने, बालुवा गिटी थुपार्दा पनि नगरपालिका दर्शक बनेर बसेको छ', उनले भने।

नौवटै पालिकाको प्रमुख बजारका रुपमा मार्तडीलाई लिइन्छ। जिल्ला बाहिरबाट आउनेहरुले पनि समग्र जिल्लाको अवस्था यही बजारलाई हेरेर बुझ्ने भएको नगरपालिकाले बजार क्षेत्रमा पार्किङ तथा पसललगायतलाई उचित व्यवस्थापन गर्नुपर्नेमा रोकायाले जोड दिए। 'साझा सरोकार भएका विषयमा नगरपालिका तथा स्थानीय जनप्रतिनिधिले चासो दिनुपर्नेमा निरीह भएर बसेका छन्', उनले भने।

Laxmi sunrise bank
kumari

प्रहरी प्रशासन लगाएर भए पनि मार्तडीको सुन्दरता, व्यवस्थापन र सडक पार्किङको समस्या समाधान गर्नुपर्ने पैदल यात्री बताउँछन्। सडकहरुमा स्थानीयहरुले घर बनाउनका लागि गिटी, बालुवा र अन्य सामग्री फाल्नुका साथै पसल तथा घरबाट निस्किएको फोहरले बजार थप दुर्गन्धित बनेको उनीहरुको भनाइ छ।

यसरी सडकमा फालिएका निर्माण सामग्रीका कारण सवारीसाधन र स्थानीयलाई आवतजावतमा सास्ती बेहोर्नु परेको स्थानीय रोकायाले बताए। मार्तडीको दुनीहाटबजारबाट खुलामञ्च-अस्पताल रोड-खेलकुद रोड हुँदै गौँडाडिलसम्म पुग्ने सडक अस्तव्यस्त रहेको उनको भनाइ छ।

नगरपालिकाले सडकमा जथाभावी फालिएका भौतिक सामग्री व्यवस्थापनमा चासो नदिँदा दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायी बताउँछन्। स्थानीय सरकारले जनताको दैनिकीसँग जोडिएका विषयमा चासो नदिएको व्यवसायीको भनाइ छ।

बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले सडक छेउछाउमा जथाभाबी राखिएका गिटी, बालुवा तथा निर्माण सामग्री हटाउन पालिकाले तत्काल सूचना जारी गर्ने बताइन्।

सडक व्यवस्थित गराउन पालिकाले पटकपटक सूचना जारी गर्दै निर्माण सामग्री हटाउन पहल गर्दै आए पनि स्थानीयले सूचनाको बेवास्ता गर्दै आएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले दाबी गरे।

अस्तव्यस्त निर्माण सामग्री, अव्यवस्थित सवारी पार्किङ र बढ्दो फोहरमैलाले मार्तडी बजारको सुन्दरता हराउँदै गएको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको छ।

प्रकाशित: Apr 02, 2024| 10:01 मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्