आइतबार, पुस १३, २०८२

प्लास्टिकको विकल्पमा कपडाको झोला

 |  सोमबार, चैत १९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १९, २०८०

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा प्लास्टिकको झोला विस्थापित गर्न उद्यमीलाई ‘सपिङ ब्याग’ (झोला) बनाउने तालिम प्रदान गरिएको छ।

National life

नगरपालिकाका १० वटै वडाका ३० महिला उद्यमी सहभागी तालिममा सिलाइ मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान र सीप प्रदान गरिएको हो। नगर उपप्रमुख ज्योति लामिछानेले बढ्दो वातावरण प्रदूषण नियन्त्रण, आयात प्रतिस्थापन, सरसफाइ, उद्यमीलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गराउनका लागि प्लास्टिकलाई प्रतिबन्ध लगाउने तयारी गरिएको बताए।

‘नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउन तयारी थालेको छ’, उनले भने, ‘प्लास्टिकको विकल्पमा कपडाको सपिङ ब्याग स्थानीयस्तरमै उपलब्ध गराउन उद्यमीलाई सिप सिकाइएको हो।’ असन्तृप्त हाइड्रोकार्बन इथेनलाई रासायनिक प्रतिक्रियामा रूपान्तरण गरी कृत्रिम तरिकाले बनाइने झोलाले अत्यधिक फोहर, पुनःप्रयोग गर्न नमिल्ने, जलप्रदूषण, ऊर्जा शक्तिमा कमी र वायुप्रदूषण बढेपछि सरकारले विसं २०७२ मा प्लास्टिकका झोला प्रतिबन्ध लगाएको थियो।

नकुहिने प्लास्टिक बाल्दा उत्पादन हुने नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्सिन, बाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन्। बेनी–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले कपडाको झोला बनाउने उद्यमीका लागि थप सीप र व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिने बताए।

उद्यमी डम्मरबहादुर कार्कीले पानी नछिर्ने, छिटो धुन र सुकाउन सकिने, आवश्यकताअनुसारको आकारमा न्यूनतम ५५ को लागतमा एउटा कपडाको झोला बनाउन सकिने बताए।

Laxmi sunrise bank
kumari

तालिममा सहभागी कमला कार्की र सुपिना किसानले बजारको सुनिश्चितता भए घरमै अथवा सामूहिकरुपमा झोला उत्पादन गर्न तप्पर रहेको बताए। क्षमता विकास तालिम, झोला बनाउने कच्चा सामग्री र सिलाइ मेसिन खरिदका लागि सहयोग गर्न नगरपालिकालाई अनुरोध गरे।

प्रकाशित: Apr 01, 2024| 17:31 सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्