आइतबार, पुस १३, २०८२

उखु पेलेर राम्रो आम्दानी गर्दै निमबहादुर

 |  मंगलबार, चैत २०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २०, २०८०

बेदकोट- कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त छन्। गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ।

National life

भीमदत्त-४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहेका छन्। उखु पेलेरै उनले तीन सदस्यीय परिवारको घरखर्च चलाइरहेका छन्।

'गर्मीयाम सुरु भएकाले उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक दुई हजार रूपैयाँभन्दा बढी आम्दानी भइरहेको छ', उनले भने, 'स्वदेशमै यति राम्रो आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता रहेन।' खर्च कटाएर दैनिक एक हजार पाँचसय रूपैयाँ बचत हुने गरेको उनको भनाइ छ। सालघारीमा बसोबास गर्ने निमबहादुरको परिवारमा उनका श्रीमती र आमा छन्।

उनी उखुको जुस निकालेर बिक्री गर्ने गर्छन्। ४० रूपैयाँ प्रतिगिलासका दरले उखुको जुस बिक्री हुने गरेको उनको भनाइ छ। 'प्रत्येक दिन बिहान उखु किनेर ल्याउँछु, बेलुका त्यो उखु सकिन्छ', निमबहादुर भन्छन्, 'प्रतिक्विन्टल एक हजारमा उखु पाइन्छ।'

निमबहादुरले ९३ हजार रूपैयाँमा उखु पेल्ने मेसिन किनेर यो व्यवसाय सञ्चालन गरेका छन्। स्वदेशमा रोजगारी नपाएपछि युवा विदेशिनेक्रम बढिरहेका बेला निमबहादुर भने स्वदेशमै केही गर्न सकिन्छ भनेर व्यवसायमा लागेको बताउँछन्।

Laxmi sunrise bank
kumari

'अर्काको देशमा पसिना बगाएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्ने सोच बनाएँ', उनले भने, 'अहिले राम्रै आम्दानी भइरहेको छ, गरे स्वदेशमै पनि राम्रो कमाइ गर्न सकिन्छ।'

निमबहादुर घर बनाउने काम गर्ने मिस्त्री पनि हुन्। मिस्त्री काममा आम्दानी कम भएर घर खर्च चलाउन गाह्रो हुँदा पनि उनी विचलित भएनन्। विदेश नगएरै स्वदेशमै उखु पेल्ने काम गर्ने योजना बनाएको उनी सुनाउँछन्।

'कोरोनापछि मिस्त्री काम धेरै कम पाइन थाल्यो, मिस्त्री कामले गुजारा चल्ला जस्तो भएन', निमबहादुर भन्छन्, 'विदेशमा गएर जस्तो पायो त्यस्तो काम गर्छन्, त्योभन्दा त देशमै सानै भए पनि आफ्नै काम गर्छु भनेर यसमा लागेको हुँ।'

तीस वर्षीय निमबहादुरले कक्षा १० सम्मको अध्ययन गरेका छन्। अठार वर्षको हुँदा बुवा गुमाएपछि परिवारका एक्ला छोरा निमबहादुरको काँधमा जिम्मेवारी थपियो। त्यसपछि उनले उच्च शिक्षा हासिल गर्न सकेनन्। घर खर्च जोहो गर्न मजदुरी थालेका उनले मिस्त्रीको काम पनि सिकेका थिए।

दैनिक दुई सय ५० रूपैयाँमा मजदुरी गरेका निमबहादुर मिस्त्री बनेसँगै दैनिक एक हजार रूपैयाँ कमाउँथे। 'दुई वर्षसम्म मजदुरी गरे, मजदुरी गर्दा गर्दै मिस्त्रीको काम पनि सिकियो, मिस्त्री काममा पनि सुरुमा राम्रै थियो, कोरोनापछि निकै कम काम पाइन थाल्यो', उनले भने, 'कति महिना घरमै बसे, त्यसपछि उखुको व्यवसायमा लागेको हुँ।'

प्रकाशित: Apr 02, 2024| 07:01 मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्