काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार (आज) बस्दैछ। १० दिनपछि संसद् बैठक बस्न लागेको हो।
बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, भन्सार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्।
सभामुख देवराज घिमिरे स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तरव्यवस्थापिका संघ (आईपीयू) को महासभामा भाग लिएर स्वदेश फर्किएपछि संसद् बैठक बस्न लागेको हो। त्यसअघि नेपाली कांगेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको थियो।
यसबीच हिजो शनिबार सभामुख घिमिरेले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग सदनको आगामी कार्यतालिकाबारे परामर्श गरेका थिए।
छलफलमा सभामुख घिमिरेले प्रमुख सचेतक र सचेतकहरुबीच भएको छलफलअनुरुप सदनलाई सहज रुपबाट अघि बढाउन तथा सरल ढंगबाट कार्यसम्पादनका लागि सहजीकरण र भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
नेपाली कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले राजनीतिक दलसम्बन्धी विधेयक विवादित भएकाले केही पछि पेस गर्ने भन्ने सहमति भएको प्रतिक्रिया दिइन्। उनले भनिन् “अरू विषयमा प्रमुख प्रतिपक्षको ठाउँबाट हेर्दा गृहमन्त्रीका विषयमा उठेको प्रश्नमा छानबिन समिति गठन नभएसम्म सदन कसरी लैजाने भन्नेमा भोलि बस्ने पार्टीको बैठकबाट मात्र तय हुनेछ।”