सोमबार, पुस १४, २०८२

छुट्टाछुट्टै दुर्घटनामा सातको मृत्यु, ६ जना मृत फेला

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ७ जनाको ज्यान गएको छ भने फरक फरक स्थानमा ६ जना मृत फेला परेका छन्। यसैगरी ३ जनाको डुबेर मृत्यु भएको छ।

National life

प्रहरीका अनुसार चितवन, ईच्छाकामना गाउँपालिका-५ स्थित सिमलधारा नजिक सडकमा काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा.२ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा ट्याक्सी चालक गोरखा, गोरखा नगरपालिका-७ बस्ने ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार गोरखा, गोरखा नगरपालिका-७ बस्ने ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी रहेका छन्। साथै दुर्घटनामा बेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ।

इलाम, रोङ गाउँपालिका-३ कोल्बुङस्थित सडकमा कोल्बुङबाट मार्सेतर्फ जाँदै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार इलाम नगरपालिका-४ पुवाखोला बस्ने १७ वर्षीय रञ्जित लिम्बुको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोरखा, शहिदलखन गाउँपालिका-३ घोर्लेश्वारास्थित सडकमा नवलपुरबाट गोरखा मनकामनातर्फ जाँदै गरेको ग.१ च ७६१९ नम्बरको स्कार्पियो शनिबार दिउँसो दुर्घटना हुँदा स्कार्पियोमा सवार नवलपरासी पूर्व बिनय त्रिवेणी गाउँपालिका-४ बस्ने ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको आबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Laxmi sunrise bank
kumari

मृत फेला
पाल्पा, रामपुर नगरपालिका-४ हातेमालो चोक बस्ने ५९ वर्षीय नर बहादुर सोती निस्दी गाउँपालिका-३ कुन्दर खोलाको बगरको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-५ डासी बस्ने निमा तामाङको छोरा १६ वर्षीय बहादुर तामाङ सोअ ठाउँस्थित सोलु खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

झापा, मेचिनगर नगरपालिका-१० नागाडुब्वा पुल नजिक हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित लौकही बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्।

कैलाली, टीकापुर नगरपालिका-४ इन्द्रैयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

सर्लाही, बाग्मती नगरपालिका-१ हिरेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

डुबेर मृत्यु
इलाम, माई नगरपालिका-२ स्थित माईखोलामा डुबेर झापा कनकाई नगरपालिका- १ जामुनखाडी बस्ने २१ वर्षीय मुकेश ढकालको शुक्रबार दिउँसो मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो।

सिन्धुली, गोलन्जोर गाउँपालिका-६ सुंगुरे खोला नजिकै रहेको हिउदमा सिचाईको लागि पानी जम्मा गर्ने प्रयोजनार्थ खनिएको खाल्टोमा डुबेर सोही ठाउँ बस्ने चन्द्र बहादुर श्रेष्ठकी छोरी १३ वर्षीया महना श्रेष्ठको शुक्रबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको हो।

गुल्मी, मुसिकोट नगरपालिका-४ आरूपाटा बस्ने २१ वर्षीय सन्दिप कुमालको सोही नगरपालिका-४ स्थित बडिगार्ड खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको लुम्बिनी प्रभास हस्पिटल वामिटक्सार गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Mar 30, 2024| 20:35 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्