सोमबार, पुस १४, २०८२

जहाँ ठेक्का सकिन एक वर्ष बाँकी छँदै गाडी चल्न थाले पुलमा

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

म्याग्दी – राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा लक्ष्यअघि मोटर चल्ने पक्की पुल बनेको छ। 

National life

ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र र अधुरा बनिरहेको अवस्थामा सत्तरी मिटर लामो पुल मोटरेवल पुल लक्ष्यअघि सम्पन्न भएको हो। यो पुल निर्माणका लागि २०७८ असार २९ मा बिओकेआइ-हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो। यसको लागत आठ करोड ३० लाख थियो। 

हिमालयन इञ्जिनियरिङका इञ्जिनियर आभास सापकोटाले यो पुलको आगामी असार मसान्तसम्म ठेक्का म्याद रहेको भन्दै पुल अहिले नै तयार भएकाले हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी दिए। 

उनका अनुसार गत असोजदेखि नै उक्त पुलमा सवारीसाधन वारपार गर्न थालेका छन्। अहिले तीन सय ५० मिटर लामो पहुँचमार्ग पनि निर्माण भएको छ। कालोपत्र गरेर आगामी वैशाख १५ भित्र हस्तान्तरण गर्ने तयारीमा रहेको इञ्जिनियर सापकोटाले बताए। 

सडक विभाग, पुल महाशाखाको पश्चिम सेक्टरका इञ्जिनियर आशिक रिजालका अनुसार ११ मिटर चौडाइ भएको उक्त पुल डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफैं डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको थियो। डिजाइन तयार पार्न एक वर्ष लागे पनि आर्थिक रूपमा असहज अवस्थाका बाबजुद पर्याप्त निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर लक्ष्यअघि नै पुल निर्माण सफल भएको सापकोटाले बताए।  

Laxmi sunrise bank
kumari

२०७३ भदौ १७ को बाढीले बेगखोलामा एक जनाको ज्यान जानुका साथै ११ घर, बेलिब्रिज र झोलुंगे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायातका साधन आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो। रघुगंगा गाउँपालिका–१ का सदस्य बलमान गौचनले पुल बनेपछि बेगखोलामा बाढी आएको अवस्थामा यातायात आवतजावत बन्द हुने र जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या हटेको बताए। 

पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत महभिर र पोखराबगरस्थित कालीगण्डकीमा यसअघि दुई मोटर गुड्ने पुल निर्माण गरेको छ। १९ करोडको लागतमा महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल निर्माण गरिएका हुन्। गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा १३  पक्की पुल र तीन बेलीब्रिज निर्माण गरिएका छन्। ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन्।

दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत सेतोखोलामा थप एक मोटर गुड्ने पुल निर्माण सुरु भएको आयोजना प्रमुख धु्रव झाले बताए। उनका अनुसार यो सडकले गण्डकी प्रदेशको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा छ। 


 

प्रकाशित: Mar 30, 2024| 20:19 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्