सोमबार, पुस १४, २०८२

मुग्लिन ट्याक्सी दुर्घटना

शोकमा रहेको रोका परिवारमा अर्को बज्रपात परेपछि...

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

गोरखा- गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो। उपचारका क्रममा राजधानी काठमाडौंमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा शुक्रबार राति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त पशुपति आर्यघाटमा पुग्यो।

National life

अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाहसंस्कारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थियो। घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो। मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन।

निक्कै बेर प्रतिक्षापछि पनि गाडी नआएपछि अनेक शङ्काउपशङ्का बढ्दै गयो। मुग्लिन पुगेका आफन्तले प्रहरीलाई जानकारी गराए। तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात पर्यो।

घटनालगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे। प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो। घटनामा परेका एक जना अझै बेपत्ता छन्। क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कने छैनन्।

जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाएकामा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, नौ वर्षीय नाति आगमन उपरकोटी (मृतक हरिमायाका छोरा) भएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका क्यान्सर रोगबाट निधन भएका शङ्करका छोरा हुन्।

Laxmi sunrise bank
kumari

मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ। अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरु समेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। 

प्रकाशित: Mar 30, 2024| 19:14 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्