सोमबार, पुस १४, २०८२

सूर्योदयमा एकल महिला समूहलाई व्यवसाय गर्न 'बीउ पुँजी'

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

इलाम- सूर्योदय नगरपालिका-८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन्। एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखाएको छ।

National life

बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरुलाई दुई तहका सरकारले प्रतिएकल महिला ३५ हजार रूपैयाँका दरले बीउ पुँजी उपलब्ध गराएको छ।

शुक्रबार एक कार्यक्रमका बीच मूल समिति ‘प्रगतिशील एकल महिला उद्यमशील समूह’ लाई दश लाख ५० हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको नगरप्रमुख रणबहादुर राईले बताए।

'एकल महिलालाई व्यवसायमा जोड्न र बचत गर्ने संस्कार विकास गर्न बीउ पुँजी दिएका हौँ', नगरप्रमुख राईले भने, 'एकल महिलाहरु समूहमा आबद्ध हुनुहुन्छ। दैनिक वा मासिक बचत संकलन गर्नुहुन्छ। उहाँहरुको इच्छाबमोजिम उद्यमशील तालिम दिएर व्यवसायमा जोड्न बीउ पुँजीको कार्यक्रम ल्याएका हौँ।'

सूर्योदय-८ मालुमकी प्रमिला थापाले ब्युटीपार्लर सञ्चालन गर्न बीउ पुँजी पाएपछि व्यवसायमा लगानी बढाउने बताइन्।

Laxmi sunrise bank
kumari

'समूहगत रुपमा लगानी वृद्धि गरेर व्यवसायलाई जीवनयापनको माध्ययम बनाउने लक्ष्य छ', उनले भने, 'सामान्य तरिकाले पसल गरिरहे पनि लगानी बढाउन नसक्दा व्यावसायिक बन्न सकिएको थिएन। नगरपालिकाबाट तालिम पनि पाएका छौँ। पैसा पनि पाइयो, अब यसैबाट सफल बन्नुछ।'

तीन वर्षपछि बीउ पुँजीका रुपमा लिइएको ३५ हजार रूपैयाँ भने नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्रमुख राईले बताए। 'उक्त रकम तीन वर्षमा नगरपालिकालाई फिर्ता गर्नुपर्ने हुन्छ। सो रकम हामी अन्य एकल महिलालाई हस्तान्तरण गर्दै जान्छौँ। बीचमा एकल महिलाले विवाह गरेमा पनि रकम नगरपालिकामा फिर्ता गर्नुपर्छ', उनले भने, 'यो रकमले सामूहिक खेती गर्न, व्यवसाय गर्न र नियमित बचत गर्न सहयोग पुर्‍याउँछ।'

एकल महिलाले एक्लोपनको महसुस गर्नु नपरोस्, आत्मनिर्भर बन्न सकून् भनेर व्यवसायमा आकर्षित गराइएको उनी बताउँछन्। उनका अनुसार पालिकाभरि करिब एक हजार एकल महिला रहेका छन्। छ सयभन्दा बढी एकल महिलाले स्वास्थ्य बीमा भएको छ।

सामूहिक रुपमा एकताबद्ध हुँदा व्यावसायिक सफलता मिल्ने ठानेर यो अभियान सुरु गरिएको हो। ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत केही सागसब्जी खेतीमा पनि आबद्ध भएका छन्। नगरपालिकाका चौध वटै वडामा कार्यक्रम पुर्‍याउने पालिकाको लक्ष्य छ। रासस

प्रकाशित: Mar 30, 2024| 18:01 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्