बिहीबार, भदौ ११, २०८३

देशको अर्थतन्त्र गत वर्षजस्तो संकटमा छैन : प्रधानमन्त्री दाहाल

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

मकवानपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गत वर्षजस्तो संकटमा नभएको बताएका छन्।

पछिल्लो समय अर्थतन्त्रको सूचकांकमा सुधार देखिएको उल्लेख गर्दै देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनिभूत छलफल आवश्यक रहेको बताए। 

नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले आगामी नीति कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट तयारीसमेत भइरहेको बताए।

उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको उल्लेख गर्दै निर्माण व्यवसायीको बक्यौता रकम तत्काल निकास गर्न सरकार लागिपरेको बताए।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीले सम्झौताबमोजिमको काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको भन्दै राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर रहेको बताए। 

निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरको काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या गम्भीररुपमा देखापरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

राज्यका रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने, बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अब देशमा विकासको कामले गति लिने बताए। 

पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानून बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानूनलाई विकासमैत्री बनाउँदै लगिने बताए।

प्रकाशित: Mar 29, 2024| 16:15 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्