सोमबार, पुस १४, २०८२

चैते धानमा किसानको आकर्षण बढ्दै

 |  शनिबार, चैत १७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत १७, २०८०

कैलाली- कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आएका छन्। बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गरे।

National life

राम्रो उत्पादन दिने र  वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न छोडेर चैते धान रोप्न थालेको पतीरामले बताए। “उत्पादन बर्खे धानकै जस्तो हुन्छ। बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ”, उनले भने, “बर्खे धान रोपाइँ गर्दा बाढी र डुबानका कारण कहिल्यै राम्रो भएन। त्यसैले वर्षात्को समयमा धान रोप्नै छाडिदिए।”
भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्नुहुन्छ। उनले हिउँदे खेतीमा तोरी लगाउँछन् भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्छन्। “खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ। पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो”,  रुपलालले भने, “चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन। उजाड देखिने उर्वर फाँट वैशाख÷जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन्।”

भजनी–८ का किसन चौधरीले ११ वर्षदेखि चैते धानखेती गर्दै आएका छन्। वर्षात्को समयमा पथरैया नदी र काढा नदीको डुबानका कारण खेती गर्न नसकिने भएपछि किसनले चैते धानबाट घरमा आवश्यक खाद्यान्नको आवश्यकता पूरा गर्दै आएका छन्।

“बर्खाको समयमा बाढी र डुबानका कारण कृषियोग्य फाँट सबै बाँझा हुन्छन्। लगाएको खेती पनि डुबानले सबै नष्ट हुन्छ”, किसनले भने, “बर्खाको विकल्प फागुन–चैतमा धान रोप्ने र असारमा भित्र्याउने किसानको सङ्ख्या बढ्दै गएको छ।” उत्पादनका हिसाबले पनि चैते धान राम्रो रहेको उनको बुझाइ छ।
नगरपालिका– ८ मा  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चैते धानको जोन नै सञ्चालनमा ल्याइएको छ। नगरपालिकामा सबैभन्दा बढी चैते धानको आकर्षण वडा नं ३, ६, र ८ मा भएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोधन अधिकारीले जानकारी दिए।

“पालिकामा बजेट कम हुँदा चैते धान लक्षित कार्यक्रम यस वर्ष सञ्चालन गर्न सकिएन। किसानलाई प्राविधिक सहयोग भने गरिरहेका छौँ”, उनले भने, “बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका किसान चैते धानमा आकर्षित छन्। त्यसलाई फैलाउँदै लैजान नगरपालिकाले रणनीतिक योजना बनाइरहेको छ।”

Laxmi sunrise bank
kumari

नगरपालिकामा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको खेती भइरहेको छ। गत वर्ष आठ सय हेक्टर क्षेत्रफलमा किसानले चैते धानको खेती गरेका कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिए। उहाँका अनुसार चैते धानका चार–पाँच प्रजातिका छन्।

नगरपालिकाले किसानको पहिचान खुल्ने गरी कृषि व्यक्तित्व (प्रोफाइल) निर्माणको तयारी पनि गरिरहेको छ। नगरपालिकामा झण्डै ११ हजार हेक्टर कृषियोग्य जमिन रहेको कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार पालिकाका अनुसार वर्षायाममा झण्डै तीन हजार जमिन बाढीको समस्याका कारण बाँझो रहने गरेको छ।
टीकापुर नगरपालिकामा पनि चैते धानको विस्तार सुरु गरिएको छ। राष्ट्रिय गौरवको आयोजना रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले चैते धान विस्तारको कार्यक्रम अघि सारेको हो।

नगरपालिकाको वडा नं ६, ७ र ८ को डुबान क्षेत्रमा चैते धान विस्तार भइरहेको नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले जानकारी दिए। “गत वर्ष भन्दा यस वर्ष केही किसानले धानखेती गरेका छन्। त्यसमा नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको छ”, उनले भने, “किसानलाई चैते धानप्रति आकर्षण बढाउन आगामी दिनमा नगरपालिकाले कार्यक्रम ल्याउने तयारी गरिरहेको छ।”
जोशीपुर गाउँपालिकामा पनि बर्सेनि चैते धानको खेती विस्तार हुँदै गएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख किशोर पन्तले गत वर्षको तुलनामा यस वर्ष चैते धान खेती गर्नेको सङ्ख्या बढेको बताए। “यस वर्ष झण्डै २० हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ भएको पाइन्छ। जुन गत वर्षको भन्दा बढी हो”, उनले भने, “गाउँपाकिकाले मात्रै १० हेक्टर क्षेत्रफलका लागि किसानलाई धानको बीउ वितरण गरेको थियो।”

गाउँपालिकको वडा नं ५ मा किसानले सबैभन्दा बढी चैते धान रोप्ने गरेका भन्दै पन्तले यहाँ एक हजार एक सय २० हेक्टर कृषियोग्य जमिन रहेको जानकारी दिए।
कुनै समय चैते धानप्रति किसानको निकै आकर्षण रहेको जानकी गाउँपालिका–४ र ७ मा भने सिँचाइको समस्याका कारण खेती गर्न छाडेका छन्। राष्ट्रिय गौरवको आयोजना सुरु भएपछि सहजरूपमा सिँचाइको पहुँच नहुँदा किसानले चैते धानखेती छाडेका बिज वृद्धि कृषक सहकारी संस्थाका व्यवस्थापक गोविन्दराज रावतले बताए।

“सहकारीले चैते धानको बिज वृद्धिको कार्यक्रमअन्तर्गत खेती गर्दै आएको थियो। त्यसमा किसानलाई प्रोत्साहन गर्ने काम पनि सहकारीले गर्दै आएको थियो”, रावतले भने, “आयोजनाको काम हुँदा सिँचाइमा समस्या भएपछि अहिले पूर्ण रूपमा धानखेती रोकिएको छ।” सिँचाइको सहज सुविधा भए पुनः चैते धानखेती विस्तार कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।
जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पालिकाभित्र यस वर्ष करिब तीन हेक्टर क्षेत्रफलका मात्रै चैते धानको खेती भएको बताए। “केही वर्ष पहिले पालिकाभित्र मात्रै आठ–नौ हेक्टरमा यो धानखेती गरिन्थ्यो। सिँचाइको सहज सुविधा नहुँदा अहिले अधिकांशले छाडेका छन्”, उनले भने।

प्रकाशित: Mar 30, 2024| 09:01 शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्