बिहीबार, चैत २६, २०८२

पर्वतको शीत भण्डारमा मुस्ताङको स्याउ, बजार नपाउँदा समस्या

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

पर्वत- यहाँको एक शीत भण्डार (कोल्ड स्टोर)मा हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादित स्याउ अहिलेसम्म पनि भण्डारण गरिएको छ। कुश्मा नगरपालिका-९ कटुवाचौपारीका रामबहादुर पौडेल क्षेत्रीले सञ्चालन गरेको माछापुच्छ्रे कागती फार्मको शीत भण्डारमा मुस्ताङी स्वादिलो स्याउ भण्डारण गरिएको हो।

National life

बेमौसममा बजारमा बिक्रीका लागि पठाउने उद्देश्यले गत असोजमा मुस्ताङबाट स्याउ खरिद गरेर ल्याइएको थियो। पाँच महिनासम्म शीत भण्डारमा राखिएको भए पनि स्याउ ताजै अवस्थामा रहेका छन्।

भण्डारण गरिएका स्याउ बजारमा पठाउने तयारी भइरहेको छ। क्षेत्रीका अनुसार लागतअनुसार मुस्ताङको स्याउको मूल्य अहिले चारसय रूपैयाँभन्दा बढी प्रतिकिलो पर्न जान्छ। व्यवसायीले भने उक्त मूल्यमा खरिद गर्न आनाकानी गर्ने गरेको क्षेत्रीले बताए।उनले एक सय ८० रूपैयाँ प्रतिकिलो खरिद गरेर ल्याएका थिए।

उनको शीत भण्डारमा अहिले एक हजार पाँच सय किलो स्याउ भण्डारण भएको क्षेत्रीले बताए। बेमौसममा बजारमा पठाउँदा उच्च प्रतिफल पनि पाइने र मुस्ताङको स्याउका लागि बजार अभाव पनि नहुने सोचेर भण्डारण गरेको भए पनि अहिले बजार नपाएको उनको गुनासो छ।

आयातित स्याउभन्दा महँगो मूल्य पर्ने भएकाले फलफूल व्यवसायीले आफ्नो स्याउ खरिद गरेर बिक्री गर्न आनाकानी गर्ने गरेको क्षेत्रीको गुनासो रहेको छ। उपभोक्ताले पनि गुणस्तरीय फलफूलभन्दा सस्तो र आयातित नै रोज्ने गरेका कारण स्याउ बिक्री गर्न समस्या भएको क्षेत्रीले बताए। उनले भने, 'सदरमुकाम कुस्मा र पोखराका व्यवसायीसँग स्याउ बिक्रीका लागि सम्पर्क गरेको भए पनि उनीहरुले आनाकानी गर्ने गरेका छन्।'

kumari

व्यावसायिक कागतीखेती गर्दै आएका क्षेत्रीले गत वर्ष गण्डकी प्रदेश सरकारको अनुदानमा शीत भण्डारण निर्माण गरेका थिए। कागतीको मौसम नभएका बेला स्याउ खरिद गरेर भण्डारण गरे पनि अहिले बिक्री गर्न समस्या भएको उनको गुनासो छ।

उनले विगत १० वर्षदेखि २० रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्दै आएका छन्। उनको बगानमा अहिले झन्डै एक हजार कागतीका बिरुवा रहेका छन्। कागती उत्पादनमा अब्बल कृषक बनेको भन्दै प्रदेश सरकारले ६० प्रतिशत अनुदानमा उनलाई शीत भण्डार उपलब्ध गराएको थियो। उनको फार्म कागतीको बेर्ना उत्पादनको स्रोत केन्द्रका रुपमा समेत कृषि ज्ञान केन्द्रले मान्यता दिएको छ। यस वर्ष १४ हजार बेर्ना उत्पादन भइरहेको क्षेत्रीले बताए।

क्षेत्रीले कागतीसँगै जिल्लामै पहिलोपटक व्यावसायिक कुरिलोखेतीसमेत गर्दै आएका छन्। कागती, कागतीका बेर्ना, कुरिलो र माहुरीपालन समेत गर्दै आएका क्षेत्रीले वार्षिक खर्च कटाएर १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

लामो समयसम्म राजधानीमा व्यापार व्यवसाय गर्दै आएका क्षेत्रीले गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्ने र बेरोजगार युवायुवतीलाई स्वरोजगार सृजना होस् भन्ने उद्देश्यले गाउँ फर्किएर कागतीखेती सुरु गरेको उनको भनाइ छ। रासस

प्रकाशित: Mar 13, 2024| 21:31 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्