बिहीबार, चैत २६, २०८२

मकै-कोदो छोडेर कफीमा रमाउँदै गुल्मीका कृषक

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

जिल्लाको मदाने गाउँपालिका– ३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू मकै र कोदो लगाउन छाडेर कफीखेतीतर्फ लागेका छन्। प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई कफीको उत्पादन र महत्वबारे जानकारी गराउँदै अनुदान उपलब्ध गराउन सुरु गरेपछि कृषक कफीखेतीमा आकर्षित बनेका हुन्।

National life

परम्परागत खेतीबाट बादर, बँदेल, दुम्सी तथा चराचुरुंगीबाट हैरानी खेप्दै आइरहेका कृषकका लागि अन्य बाली उत्पादनको तुलनामा कफी थप सजिलो बनेको छ। तीन वर्षअघि गठन भएको तीनधारे कफी उत्पादन कृषक समूहमार्फत स्थानीय कृषकले कफीखेतीको सुरुवात गरेका हुन्। प्रत्येक घरमा ५० देखि दुई हजारसम्म कफीका बोट छन्। तीन वर्षअघि रोपेका बोटले फल दिन सुरु गरेपछि कृषक उत्साहित बनेका छन्। 

सिर्सेनी टोरेटाका कृषक मेघलाल अर्याल यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने कृषकमध्येमा पर्छन्। ‘विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले सबै कफीले ढपक्क ढाकेका छन्,’ उनले भने, ‘दश रोपनी जग्गामा सबै कफी लगाएको छु।’ अर्का कृषक शशिधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या परे पनि अहिले कफीखेतीले आशा जगाएको बताए।

परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले व्यावसायिक कफीखेतीको विस्तारका लागि कार्यालयका तर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजालीलगायतमा अनुदान उपलब्ध गराउँदै आइएको बताए। साथै, गाउँमा कफी पाठशाला सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिने गरिएको उनको भनाइ छ।     

गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। जिल्लामा आर्थिक वर्ष ०७९/८० मा ३० मेट्रिकटन कफी उत्पादन भएको थियो। सोअन्तर्गत आठ टन ग्रिनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ। पछिल्लो समयमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्रलगायत कार्यालयका साथै स्थानीय तहले कृषकलाई कफीखेतीमा लाग्न प्रेरित गर्दै आइरहेका छन्। 

kumari

प्रकाशित: Mar 10, 2024| 19:01 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्