बिहीबार, चैत २६, २०८२

तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङका लागि सम्झौता

 |  शुक्रबार, फागुन २५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २५, २०८०

तनहुँ- तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १ सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ। 

National life

तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी आरके इन्जिनियरिङ एण्ड एशोसिएटस्सँग खरिदसम्बन्धी सम्झौता भएको हो। 

लिमिटेडले एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाका तर्फबाट प्रबन्ध सञ्चालक श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरे।

आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षणका लागि अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

'आयोजना सुरु गर्नुपूर्व विभिन्न चरणका परीक्षण हुन्छन्', उनले भने, 'तल्लो सेतीको मुख्य पानी लैजाने हेडरेस टनेल छ दशमलव सात किलोमिटरको रहनेछ। त्यसका लागि परीक्षण गर्न अडिट सुरुङ बनाउन लागिएको हो।'

kumari

अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङ निर्माण सुरु भएपछि अन्य काममा प्रयोग गर्न सकिने भण्डारीको भनाइ छ। डेढ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्ने योजनाअनुसार काम थालिएको उनले बताए। तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न जग्गा प्राप्तिका लागि तयारी सुरु भएको छ। जग्गा प्राप्तिका लागि ऊर्जा मन्त्रालयमा आवश्यक कागजात पठाइएको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको आयोजना प्रमुख भण्डारीले बताए। 

उनका अनुसार विस्तृत वातावरणीय अध्ययन प्रभाव मूल्याङ्कन (इआइए) पनि स्वीकृतिको चरणमा छ। भण्डारीले भने, 'आयोजना निर्माणका लागि जापानको जाइकाका तर्फबाट स्थलगत अध्ययन भएको छ। जाइकासँग सकारात्मक छलफल भएको छ।'

उक्त जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंक (एडीबी) ले लगानीका लागि चासो दिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। आयोजनाको लागत रु २५ अर्ब अनुमान गरिएको छ। 

तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको ‘रेगुलेटेड’ प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको आयोजना कार्यलयले जनाएको छ।

आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ। विस्तृत अध्ययनका लागि विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाइएको थियो। 
परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन (डिपिआर) पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ। 

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिसमेत प्राप्त गरिसकेको छ। साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका-६ र देवघाट गाउँपालिका-३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ।

पानीको प्रवाहलाई देवघाट-३ र ४ हुँदै छ दशमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमबाट करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। 

आयोजनाबाट बन्दीपुर-६, व्यास नगरपालिका-१३ र १४, देवघाट-२, ३ र ४, ऋषिङ गाउँपालिका-१ र ३, आँबुखैरेनी गाउँपालिका-५ र ६, भरतपुर महानगरपालिका-२९ का केही भाग प्रभावित हुनेछन्। 

देवघाट-४ गाइघाटमा अर्धभूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिने छ। उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको दुई सय २० केभी दमौली-नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने भण्डारीको भनाइ छ। यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्ने उनले जानकारी दिए।

अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ। आयोजनाबाट वार्षिकरूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुने आयोजना कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 08, 2024| 16:01 शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्