माइती नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसमा प्ररणादायी दुई महिलालाई सम्मान गरेको छ। बुधबार आयोजित एक कार्यक्रमबीच दुई जना महिलालाई सम्मान गरेको हो।
दृष्टिविहीन रहेकी इन्डियन आइडल सिजन १४ मा बलियो प्रतियोगीका रूपमा दर्शकको मन जितेकी मेनुका पौडेल र ८० वर्षको उमेरमा उच्च माध्यमिक तहको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेर शैक्षिक उत्कृष्ठता हासिल गरेको हुँदा रत्नकुमारी सुनुवारलाई सम्मान गरेको हो।
नेपालस्थित भारतीय राजदूतावास, माइती नेपाल र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र बीपी कोइराला इन्डिया–नेपाल फाउण्डेशनको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले महिला सशक्तिकरण र उनीहरूको अधिकारको वकालत गर्न माइती नेपालको प्रतिबद्धतालाई जोड दिए।
अन्तर्राष्ट्रिय महिला दिवसको विशेष अवसरमा उनले अभिनन्दन कार्यक्रमले महिलाको उल्लेखनीय उपलब्धिहरूको कदर गर्ने र आम महिलाहरूलाई अवरोधहरू तोड्न र आफ्नो सपनालाई पछ्याउन प्रेरित गर्ने मञ्चको रूपमा उपयोग गर्ने बताए।
माइती नेपालले लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने, मानव बेचबिखन र शोषणलाई रोक्न र दुर्व्यवहार र शोषणबाट बाँचेकाहरूलाई सहयोग र सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
हरेक वर्ष समाजका उल्लेखनीय प्रेरणादायी महिलाहरूलाई सम्मान गर्दै क्यालेन्डर कार्यक्रमको रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको माइती नेपालले जनाएको छ।

