बिहीबार, चैत २६, २०८२

लु र शीतलहरबाट बच्न पूर्वतयारीमा जुट्यो टीकापुर

 |  शुक्रबार, फागुन २५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २५, २०८०

कैलाली- कैलालीमा हरेक वर्ष गर्मीमा लु र हिउँदमा शीतलहरले नागरिकलाई हैरानी हुन्छ। गर्मीमा यहाँका नागरिकको दैनिकी कष्टकर हुन्छ भने चिसोमा शीतलहरका कारण कामकाजमा मात्र समस्या होइन खेतीपातीमासमेत असर पार्छ। लु र शीतलहरका कारण हुने क्षति न्यूनीकरणका लागि अब टीकापुर नगरपालिकाले योजना बनाएर काम गर्ने भएको छ।

National life

विपद् भनेपछि बाढीमात्र सम्झने यहाँका पालिकाले विपद्का अन्य क्षेत्रमा काम गर्न थालेका छन्। टीकापुर नगरपालिकाले पूर्वानुमानमा आधारित लु तथा शीतलहरको पूर्वकार्य व्यवस्थापन कार्यविधि निर्माण थालेको छ। कार्यविधिको मस्यौदामा विपद् व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको छ। 

गर्मीमा लु तथा जाडोमा शीतलहरले धेरै क्षति हुने भएकाले पूर्वकार्य तथा राहतमा सहजता होस् भनी कार्यविधि निर्माण थालिएको हो। मौसम पूर्वानुमानका आधारमा लु तथा शीतलहरको प्रभाव न्यूनीकरण गर्न र पूर्वकार्यका कार्य गर्न कार्यविधि भएमा सहज हुने विपद् शाखा प्रमुख निर्मला चौधरीले बताए। 

‘हामीसँग बाढीको पूर्वकार्य कार्यविधि यसअघि नै बनिसकेको छ’, चौधरी भन्छन्, ‘अब हामीले विशेष गरी चार क्षेत्रलाई प्राथमिकता दिएर कार्यविधि बनाएर काम गर्न खोजेका छौँ, आगलागी, खडेरी, जङ्गली जनावरको जोखिमबाट बच्न कार्यविधि बनाएर काम गर्ने तयारीमा छौँ।’
    
कार्यविधिमा विपद्को जोखिम, प्रभाव पार्ने क्षेत्र, विपद्को प्रभावको अवस्था, अति सङ्कटासन्न वर्ग छुट्याइएको छ। कार्यविधि भएमा लक्षित वर्गको तथ्याङ्क व्यवस्थापनमा सहज हुने र प्रतिकार्यका कार्यमा सहज हुने कार्यपालिका सदस्य दीपक निसानीले बताए। 

‘योजना भएमा बजेट व्यवस्था गर्न सकिन्छ, विपद्का समयमा विषयगत समिति आफैँ सक्रिय हुने भएकाले पालिकालाई सहज हुन्छ’, निसानीले भन्नुभयो, ‘विपद् भनेको बाढी मात्र होइन, हाम्रो यहाँ बाढीभन्दा बढी कृषिमा क्षति शीतलहर र लु ले हुने गरेको छ।’

kumari

मस्यौदाका परामर्शदाता दिनेशचन्द्र जोशीले बाढी मात्र विपद् हो भन्ने बुझाइ परिवर्तन हुँदै गएको बताए। ‘यहाँ विपद्, विपद् शाखा भनेपछि बाढीको जोखिम न्यूनीकरणमा मात्र काम भएका छन्’, उनी भन्छन्, ‘अन्य विपद्मा पनि काम गर्नुपर्छ, शीतलहर, लु, आगलागी, खडेरी, जङ्गली जनावरको असरजस्ता धेरै विपद्का क्षेत्रमा पालिकाले काम गर्नु आवश्यक छ।’

प्रकाशित: Mar 08, 2024| 06:01 शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्