बिहीबार, चैत २६, २०८२

मुग्लिन-पोखरा सडक: मादीमा आर्क पुल बन्दै

 |  शुक्रबार, फागुन २५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २५, २०८०

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ। व्यास नगरपालिका-४ र ५ जोड्ने गरी उक्त पुल निर्माण भइरहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ। 

National life

पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले व्यास नगरपालिका-५ स्थित सडक डिभिजन कार्यालय पछाडितर्फको भागमा काम सुरु गरेको छ। उनले भने, 'हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ। पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको छ।' 

पाण्डेका अनुसार पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय यहाँबाट विस्थापित हुने भएको छ। जग निर्माणको काम पूरा भएपछि त्यसभन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। उक्त पुलको छ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ।

तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दुरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ।

kumari

सडकको काम तीव्र
मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा हालसम्म ५० प्रतिशत काम सकिएको छ। आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा ५०.८९ प्रतिशत काम सकिएको इञ्जिनियर पाण्डेले जानकारी दिए। उनका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ।

आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किमी दुईतर्फी र आठ किमी एकतर्फी खण्ड कालोपत्र सकिएको उनले जानकारी दिए। आगामी बैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ। 'त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ', पाण्डेले भने।

उनका अनुसार दमौली बजारमा ७५ घरटहरा हटाइनेछ। अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुन नसकेकामा अहिले घरधनीले घर भत्काउने काम गरिरहेकाले उक्त खण्डमा पनि कामले गति लिने पाण्डेले बताए।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ बैशाखसम्म रहेको छ। 

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ। पोखरा खण्डमा पनि केही दुरीमा कालोपत्र भएको छ । पश्चिम खण्डमा हालसम्म छ किमी एकतर्फी सडक कालोपत्र भएको छ। 

पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले यो खण्डमा पनि कालोपत्रको कामलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति भएको छ। 

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भइ विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्डको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले विसं २०८१ भदौसम्म निर्माण सम्पन्न गर्नेगरी पाएको सूचना अधिकारी पौडेलले जानकारी दिए। उनका अनुसार सात अर्ब ४० करोड ४६ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। रासस

प्रकाशित: Mar 08, 2024| 05:31 शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्