बिहीबार, चैत २६, २०८२

रुकुम कारागारको क्षमता २५, कैदी डेढ सय

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

रुकुम पश्चिम- रुकुम पश्चिमको जिल्ला कारागारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदी बन्दी राखिएको छ। 

National life

विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका गरेर एक सय ५० कैदी तथा थुनुवा रहेका छन्। पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा हाल सो सङ्ख्यामा कैदी तथा थुनुवा रहेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए। उनका अनुसार एक सय जना विभिन्न अभियोगमा दोषी ठहर भएका कैदी छन् भने ५० जना विभिन्न अभियोगमा अदालतबाट फैसला आउन बाँकी रहेका थुनुवा छन्। क्षमताभन्दा बढी सङ्ख्या हुँदा बसाइ व्यवस्थापनमा समस्या हुने गरेको छ। 

त्यसैगरी, हिउँको समयमा पानीको पनि उत्तिकै समस्या हुने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिए। कारागारमा भवन तथा अन्य समस्याको समाधानका निम्ति पटक-पटक मौखिक तथा पत्राचार गर्दा पनि कारागार व्यस्थापन विभागले व्यवस्था गर्दा कैदीबन्दीलाई समस्या हुने गरेको छ। रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ। जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थुनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिए। 

हाल कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेको कारागार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिए। उनका अनुसार ७० वर्षमाथिका चार कैदी बन्दी छन्। त्यस्तै १६ महिनाका एक बालक र दुई वर्षका एक बालक गरेर दुई बालक पनि कारागारमा रहेका छन्। 

प्रकाशित: Mar 07, 2024| 10:01 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्