आइतबार, वैशाख २८, २०८२

सिजनमै उखु अभाव भएपछि चिनी उद्योगलाई दैनिक लाखौं घाटा

 |  बिहीबार, फागुन २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

vianetvianet

महोत्तरी- फागुन चिनी उत्पादनको अति व्यस्त यामको महिना पर्छ तर यसैबेला महोत्तरीको गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) मा उखुको अभाव भएको छ। उद्योगको उखु पेल्ने र चिनी उत्पादन गर्ने क्षमताअनुसार दैनिक उखु आपूर्ति हुन नसक्दा दिन बिराएर सञ्चालन गर्नु परेको छ।

triton college

'हाम्रो उद्योगले दैनिक ४० हजार क्विन्टल उखु पेल्छ तर केही दिनयता २५ हजार क्विन्टल उखु आइपुग्न पनि हम्मेहम्मे छ', उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्छन्, 'दैनिक पेलान क्षमताअनुसार उखु नभएपछि दिन बिराएर उद्योग चलाउनु परेको छ।' गत साताको अन्त्यसँगै उखु आउने क्रम स्वात्तै घटेर दैनिक २०/२५ हजार क्विन्टलमा झरेको शुक्लाको भनाइ छ।

'हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दैछौँ,' शुक्ला भन्छन्, 'यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।' उद्योग सञ्चालन नियमित गर्न दैनिक ४० हजार क्विन्टलसँगै थप जगेडामा १० हजार क्विन्टल उखु राखिनुपर्ने उनको भनाइ छ।

यसपालिको याममा गत पुस ४ गते उखु क्रसिङ (पेल्न) थालेको उद्योगले फागुन तेस्रो सातामै ‘नो क्यान’ (उखु अभाव) को अवस्था झेल्नु परेको छ। 'एकताका मङ्सिरदेखि नै सुरु गरेर झन्डै बैशाखसम्म उद्योग सञ्चालनमा रहन्थ्यो,' एक दशकअघिको विगत सम्झँदै शुक्ला भन्छन्, 'अहिले दशतिर मरिहत्ते गरेर लागिपर्दा पनि उद्योगलाई चाहिने उखु पुर्‍याउन सकिएको छैन ।'

उखुको अभावले दुई दिन बिराएर सञ्चालनमा रहेको उद्योगले सरदर १० लाख दैनिक घाटा व्यहोर्नु परेको उद्योग प्रशासनले जनाएको छ। सञ्चालनमा रहेको उद्योगमा एकदिन क्रसिङ रोकिँदा चिनी बन्ने क्रममा रहेको ३० हजार लिटर उखुको रस खेर जाने र स्टिम बनाउने इन्धनमा हानि हुने गरेको शुक्ला बताउँछन्। 'स्थायी र ज्यालादारीका श्रमिक कामबिना रहँदा लागत ह्वात्तै बढ्छ, यो अवस्था झेल्न उद्योगलाई निकै सकस छ,' शुक्ला भन्छन्।

National life insurance

पछिल्ला केही वर्षयता उखु खेती घट्दै गएर याममा अभाव बढेको उखु उत्पादक किसानसम्बद्ध संस्थाको भनाइ छ। पछिल्ला चार वर्षयता घट्दै गएको खेती यसपालि थोरै बढे पनि यामभरको आवश्यकता भने अझै अपुग रहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन्।

'किसानको खेतमै उखु सकिँदैछ, अनि उद्योगमा कसरी पर्याप्त उखु आउँछ,' कुशवाहा भन्छन्, 'आउने वर्षको योजना अहिले नै बनाएर उखु खेती बढाउन पहलकदमी नलिए अब बर्सेनि यो अभाव खेप्नुपर्ने दिन आउनेछन्।'

यसका लागि उद्योग र सरकारले किसानलाई विभिन्न अवसरको आकर्षण दिन सक्नुपर्ने कुशवाहाको भनाइ छ। 'उखु अभाव हुन नदिन त एउटै विकल्प यसको उत्पादन बढाउनु हो,' कुशवाहा भन्छन्, 'बर्सेनि उखु क्रसिङ्‌को बेला भएपछि मूल्यको झमेला, उखुको मूल्य समयमा पाउने/नपाउने चिन्ता र खेतीमा भरथेग नभएपछि किसान निराश छन्, अब सरकार र उद्योगले भरोसा जगाउनुपर्छ।' पछिल्ला पाँच वर्षयता घट्दै गएको उखु खेती गत वर्षयता भुक्तानी अलि सहज बन्दा यसपालि बढेको कुशवाहाको भनाइ छ। गत वर्ष पाँच हजार बिघामा झरेको खेती यसपालि सात हजार बिघा पुगेको उनको भनाइ छ।

'महोत्तरीमा १८ हजार बिघासम्म उखु खेती पुगेको थियो,' एक दशकअघिको अवस्था सम्झँदै कुशवाहा भन्छन्, 'किसान वाक्क भएरै खेती छोड्दै गएका हुन्, अब उद्योग र सरकारले नयाँ विश्वास जगाउने काम गरे उखु फेरि बढ्छ।'

एभरेष्ट चिनी उद्योगले यसपालि (जारी वर्ष २०८०/८१) मा कमसेकम ३० लाख क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य  लिएको छ। यसअनुसार दैनिक ४० हजार क्विन्टल उखु पेल्दै तीन हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको उद्योगको तालिका उखु अभावसँगै प्रभावित बनेको छ।

फागुनमै उखु अभाव हुन थालेपछि उद्योग गेटको उखु यार्ड (तौलाएको उखु खन्याएर राखिएको ठाउँ) खाली देखिँदैछ। यसैगरी, उद्योगले ठाउँठाउँमा सञ्चालन गरेका ३३ वटा खरिदकेन्द्रमध्ये धेरैजसो फागुन तेस्रो सातामै बन्द भएका छन्। यो अवस्थाले यसपालिको याममा क्रसिङ अब धेरै दिन नलम्बिने छाँट छ। रासस

प्रकाशित: Mar 07, 2024| 09:01 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्