बिहीबार, चैत २६, २०८२

दश वर्ष पढाएपछि गाउँ फर्केर बाख्रापालन

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

इलाम- माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन्।

National life

उनी माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा विगत सात वर्षदेखि व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएका छन्। काठमाडौँमा शिक्षण पेसा गर्दै आउनुभएको उहाँले २०७३ सालमा शिक्षण छाडेर ‘इलाम एग्रो फार्म’ सुरु गरेका हुन्। उनको फार्म अहिले नमूना फार्मका रूपमा परिचित छ। व्यावसायिक बाख्रापालन गरी गाउँमै धेरै आम्दानी गर्ने किसानका रूपमा समेत परिचित छन्।

देशकै राजधानीमा लामो समय बिताउँदासमेत जीविकोपार्जनमा समस्या भएपछि आफ्नै गाउँ फर्केर सात वर्षदेखि बाख्रापालन गर्दै आएको कार्कीले बताए। ‘दश वर्षसम्म काठमाडौँका विभिन्न कलेजमा पढाएँ तर सोचेजस्तो आम्दानी गर्न सकिनँ, सहरमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा केही गर्छु भनी गाउँ फर्केर सात वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु’, उहाँले रासससँग भन्नुभयो, ‘वार्षिक रु आठदेखि १० लाखसम्म कमाइरहेको छु, यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ।’

उनले सहरमा बगाउने पसिना गाउँमा नै बगाए गाउँलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने बताए। उनले व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने बताए।

उनले सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारि जातका माउ, ब्याड बोका र पाठापाठी गरी एक सयको हाराहारीमा बाख्रा रहेका छन्। त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन। व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको उनले सुनाए। उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लागि उदाहरण बन्न सकिन्छ कि भनेर जागिर छाडेर बाख्रापालन सुरु गरेको दाबी गरे।

kumari

‘बीउ उत्पादन गर्ने सोचका साथ सुरुमा अफ्रिकाबाट बोयर बोका र माउ ल्याएर बाख्रापालन सुरु गरियो, अहिले यही व्यवसायबाट खर्च कटाएर बचेको पैसाले घरखर्च चलेको छ’, उनले भने, ‘बिक्रीका लागि बजारको समस्या छैन, यहाँ उत्पादित बाख्रा र बोका इलामसहित देशभरका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ।’

उनको फार्ममा दुईजना युवाले रोजगारी पाएका छन्। आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारलाई रोजगारी दिएको उनले बताए। ‘फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई युवालाई कामदारका रूपमा रोजगारी दिएको छु’ उनले भने, ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ।’

उनले बाख्रापालनमा सहजताका लागि उन्नत जातको घाँसखेती लगाएक छन्। चालीस रोपनी जमिनमा उन्नत जातको घाँस लगाएको उनले बताए। उनले रोजगारीको अवसर नभएको भन्दै विदेशिने युवालाई गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरे।

उनले सरकारबाट समेत सहयोग राम्रै पाएका छन्। उनको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमूना बाख्रा फार्म कार्यक्रमअन्तर्गत रु सात लाख अनुदान पाएको बताउनुभयो। सो अनुदानबाट आधुनिक खोर निर्माण गरेका छन्। ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठी राख्ने खोर अलगअलग बनेको छ।

पैसा कमाउन विदैश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले काठमाडाँैको शिक्षण पेसा छाडेर गाउँमै फर्केर बाख्रापान सुरु गरेको कार्की बताउँछन्। ‘बेरोजगार युवाहरू विदेशिने क्रम रोक्न र गाउँघरमै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ’, कार्की भन्छन्, ‘निरन्तरता दिएर नवीनतम् ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाई गर्न सकिन्छ। म आफ्नो व्यवसायबाट सन्तुष्ट छु।’

बाख्रापालनका अलावा उनले व्यावसायिक कफीखेतीसमेत गर्दै आएका छन्। साठी रोपनी जग्गामा अराविका नामक छ हजार कफीको बिरुवा लगाएका छन्। रासस

प्रकाशित: Mar 07, 2024| 07:01 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्