बिहीबार, चैत २६, २०८२

थामचौरमा बढ्न थाले आन्तरिक पर्यटक

 |  बिहीबार, फागुन २४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २४, २०८०

ढोरपाटन- बागलुङको बडिगाड गाउँपालिका-७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ। समुद्री सतहबाट दुई हजार एकसय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ।

National life

पछिल्लो समय घुम्ने संस्कृति बढेसँगै थामचौर क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन्। उच्च पहाडी क्षेत्रमा रहेको थामचौरमा स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका हुन्।

गाउँपालिकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई तीव्रता दिएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताए।

थामचौरमा पालिकाले मन्दिर र शौचालय निर्माण गरेको भन्दै खानेपानी व्यवस्थापन र वनभोज स्थल (पिकनिक) बनाउन थालिएको उनले बताए। पहिले पैदल यात्रामार्फत पुग्ने पर्यटक हिजोआज मोटरगाडीमा सहजै पुग्न सक्ने उनको भनाइ छ।

मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि १३ किलोमिटर उत्तरपट्टी रहेको थामचौरको विकासका लागि हालसम्म करिब ४० लाख रूपैयाँभन्दा बढी लगानी भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए। मोटरबाटोले जोडिएपछि पछिल्लो समय बस र ट्याक्सीसमेत यहाँ पुग्न थालेका उनको भनाइ छ।

kumari

अध्यक्ष अधिकारीले भिमगिठे बजारबाटबाट गाडीमा ४० मिनेट लाग्ने हुँदा बिदाको समय र विभिन्न चाडपर्वमा बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका बताए। आगन्तुकको सहजताका लागि ठाउँठाउँमा बस्ने चौताराको व्यवस्थापन तथा वन्यजन्तुका लागि वरपर पोखरीसमेत निर्माण भएको उनले जानकारी दिए।

'थामचौर बडिगाड गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र हो, यसको विकासका लागि हामीहरु निरन्तर लागि रहेका छौँ। हरेक वर्ष बजेट व्यवस्थापन गरेर पर्यटकीय संरचना बनाउने र प्रचारप्रसारलाई तीव्रता दिएका छौँ', अध्यक्ष अधिकारीले भने, 'यहाँ धेरै मानिस वनभोजका लागि आउने हुँदा खानेपानीको समस्या छ, यसको समाधानका लागि अहिले काम भइरहेको छ।'

वनभोजका लागि छुट्टै स्थल बनाउने योजना रहेको भन्दै उनले सडक पूर्वाधारको विस्तार भएकाले पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने बताए। चालु आर्थिक वर्षमा पालिकाले सडक विस्तारका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ। 

बडिगाड-७ का पूर्ववडाध्यक्ष कृष्ण गुरुङले पिकनिकको सिजनमा बागलुङसहित अन्य जिल्लाबाट आउनेको भिड हुने बताए। खास गरी नयाँ वर्ष, होली पर्व (पूर्णिमा) का बेला पर्यटकले थामचौर भरिभराउ हुने उनको भनाइ छ।

यहाँबाट बागलुङको विभिन्न स्थानसहित गुल्मीको रेसुंगा, तम्घास बजार, प्यूठान लगायतका ठाउँ एकै पटक देख्न सकिने गुरुङले बताए। धौलागिरीसहित दर्जन हिमाल नजिकैबाट अवलोकन गर्न सकिने हुँदा धेरै पर्यटक आकर्षित हुँदै गएको उनको भनाइ छ।

'थामचौरमा पालिकाबाट निरन्तर लगानी भएको छ। यसअघि यहाँ सडकको समस्या भएपछि अहिले सडक स्तरोन्नति भएको छ। सडक व्यवस्थित भएपछि पर्यटक बढेका छन्', गुरुङले भने, 'अग्लो स्थानमा यति सुन्दर ठाउँ छ, जहाँ पुग्यो भने धेरै पर्यटक लोभिन्छन्। केही वर्ष यता पूर्वधार थपिने क्रममा छन्। अहिले बिदा तथा विभिन्न पर्वमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ।' रासस

प्रकाशित: Mar 07, 2024| 06:01 बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्