शुक्रबार, भदौ १२, २०८३

हुम्लामा दादुरा-रुवेलाविरुद्धको खोप अभियान

 |  आइतबार, फागुन २०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २०, २०८०

हुम्ला- हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ। 

पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ। 
  
खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन २५ गतेदेखि चैत ७ गते अभियान सञ्चालन गरिने कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए। जिल्लामा सात स्थानीय तहले तोकिएकै मितिमा खोप अभियान सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसँग समन्वय गरिएको उनले बताए। 

दादुरा–रुवेला लागेको एक व्यक्तिले १८ जनासम्मलाई रोग सार्न सक्ने भएकाले यसबाट सुरक्षित रहन सम्पूर्ण बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउनु अति आवश्यक प्रमुख सिंहको भनाइ छ। 

अभियान सञ्चालनका लागि एक सय सात खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले जानकारी दिए। उनका अनुसार नाम्खा १५, सिमकोट २०, खार्पुनाथ १४, सर्केगाड २३, चङ्खेली १२, अदानचुली १२ र ताँजाकोट गाउँपालिकामा ११ खोप केन्द्र तोकिएको छ।

राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्युदर घटाउनमा उल्लेखनीय रुपमा योगदान पुर्‍याएको भन्दै सबैलाई खोप अभियानमा समन्वय गर्न प्रमुख सिंहले आग्रह गरे।  

प्रकाशित: Mar 03, 2024| 20:01 आइतबार, फागुन २०, २०८०
प्रतिक्रिया दिनुहोस्