शनिबार, फागुन २३, २०८२

स्थायी बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला बढी

 |  शुक्रबार, फागुन १८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १८, २०८०

अत्तरिया- कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ। चालु आवमा स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा पुरुषभन्दा महिलाको सहभागिता बढी रहेको हो।

National life

१३ वटै स्थानीय तहका विभिन्न १७ ठाउँमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको इच्छा पुगेका दुई सय ४६ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईंले जानकारी दिए।

घुम्ती शिविरमा स्थायी बन्ध्याकरण सेवा लिनेमा दुई सय २० महिला र २६ जना पुरुष रहेको उनले बताए। परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन्। नेपाल परिवार नियोजन सङ्घ धनगढी र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लामा दुई चरणमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको उनले बताए।

गत मङ्सिर २५ गतेदेखि पुस ६ गतेसम्म १० र यही फागुन ५ गतेदेखि १४ गतेसम्म जिल्लाका विभिन्न सात ठाउँमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरिएको उनले बताए। गत आव २०७९/०८० मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ९१ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको उनले बताए। जसमा दुई सय ६३ महिला र २८ जना पुरुषले बन्ध्याकरण सेवा लिएको परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागार्इंले बताए। गत वर्ष पनि बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी नै रहेको थियो।

पुरुषले स्थायी बन्ध्याकरण गर्न नचाहने, महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न नदिनेजस्ता कारणले बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी हुने गरेको उनले बताए। पुरुषले भ्यासेक्टोमी गर्दा शरीरमा अप्ठ्यारो हुन्छ भन्ने भ्रम, वैदेशिक रोजगारीमा बढी पुरुष नै जाने भएकाले गाउँघरमा पुरुषको सङ्ख्या कम हुने भएकाले पनि स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताए।

Laxmi sunrise bank
kumari

उनले भने, “पुरुषले धेरै काम गर्नुपर्छ”, बन्ध्याकारण गर्दा कमजोर भइन्छ भन्ने भ्रम पनि छ। रोजगारीका लागि बढी पुरुष नै बाहिर जाने गरेका छन्। जसले गर्दा स्थायी बन्ध्याकरणमा पुरुषभन्दा महिला बढी आकर्षित देखिन्छन्।”

प्रकाशित: Mar 01, 2024| 22:01 शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्