सोमबार, मंसिर १, २०८२

बुढेसकालमा मीत बनेका दुई 'गोठाला'

भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैंसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन्।
 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

म्याग्दी (बेनी)- गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद तुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन्। जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन्।

National life

कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आएका घले करिब आठ महिना अघिमात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिएका हुन्।  भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताए।

“यहाँ आउँदा कोही आफन्त थिएनन्, गोठालाको साथी नै गोठाला बन्ने न हो, आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ”, घलेले भने। घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो।

अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकैठाउँमा छन्। गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउराघाँसमा उनीहरू सहकार्य गर्छन्। घलेले काम गर्ने भेडीगोठमा नियमित रूपमा चार–पाँच जना भइरहने भएकाले तुलाचनसमेत बिहान–बेलुका भेडीगोठमै गफगाफमा भेटिन्छन्।

वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मितका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताए। “हामीलाई गोठले नै साथी बनायो, उहाँ कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको !”, तुलाचनले भने। तुलाचनको गोठमा नौवटा भैँसी छन् ।

Laxmi sunrise bank
kumari

दुईजना मितेरी साइनेमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्नेमात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गरेका छन्। भैँसीगोठबाट तुलाचनले नियमित रूपमा दूध लगेर भेडीगोठ पुग्छन् भने भेडीगोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मित तुलाचनलाई चखाउने गर्छन्।

बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउँछन्। नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित मीतिनी’ साइनो हराउँदै गएको छ । रासस
 

प्रकाशित: Jan 24, 2024| 08:36 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्