मंगलबार, पुस १, २०८२

ध्रुवे र गोविन्दे हात्तीले दु:ख दिएपछि के गर्दैछ निकुञ्ज ?

 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

National life
Laxmi sunrise bank
kumari

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ । विशेष गरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि निकुञ्ज अभियानमा लागेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुई हात्ती मेघौली र माडी क्षेत्रमा बस्तीमा पस्न थालेपछि स्थानीयस्तरमा रहेका सेना र निकुञ्जको टोलीलाई सहयोग गर्न थप एक टोली पठाइएको छ । विगत तीन/चार दिनदेखि टोली परिचालन गरिएको उनले बताए।
 
“निकुञ्जको कार्यालयबाट हात्ती धपाउनका लागि थप एक टोली पठाइएको छ”, तिवारीले भने, “यसले हात्ती बस्तीमा पुगेको सूचनाका आधारमा त्यहाँ पुगेर हात्तीलाई जङ्गल धपाउने, जनता जोगाउने र क्षति कम गर्ने काम गर्दछ ।” हिजोआज ध्रुवे र गोविन्दे मेघौली क्षेत्रमा रहेको सूचनाका आधारमा टोली परिचालन गरिएको उनले बताए।
 
“निकुञ्जबाट गएको टोलीसँग गाडीसहित अन्य उपकरण पनि रहेकाले जहाँ हात्ती हुन्छ त्यहाँ पुग्न सक्छन्”, तिवारीले भने, “टोलीले स्थानीयस्तरमा रहेका निकुञ्जका कर्मचारी र नेपाली सेनाका कर्मचारीको सहयोगमा हात्तीलाई धपाउने काम गर्छ ।” पश्चिम क्षेत्रमा रहेका दुई हात्तीका कारण निकुञ्ज हुँदै माडी प्रवेश गर्ने सडकमा जोखिम बढेको छ । कहिलेकाहीँ हात्ती सडक आसपासमा भएको सूचनाको आधारमा सवारी आवागमन नै रोकिने गरेको तिवारीले जानकारी दिए । उनका अनुसार अन्य समयमा समेत निकुञ्ज पार गर्न मोटरसाइकललाई समूहमा पठाउने गरिएको छ ।
 
निकुञ्जमा रहेका चार जङ्गली हात्तीमध्ये पूर्वी क्षेत्रमा मकुना र रोनाल्डो छन् । ती हात्तीले अहिले खासै समस्या नदिएको भए पनि पश्चिम क्षेत्रमा रहेका हात्तीले बस्तीमा पसेर जनतालाई त्रसित बनाउँदै आएका छन् । सबैभन्दा लामो दूरी हिँडेर आतङ्क मच्चाउने ध्रुवे हात्ती हो । तिवारीले भने, “हामीले निकुञ्ज आसपास बस्ने जनतालाई सजग रहन भनेका छौँ । मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजग भएर जान अनुरोध गरेका छौँ ।”

प्रकाशित: Jan 19, 2024| 19:15 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्