बिहीबार, चैत २६, २०८२

सुन्तला फल्न थालेपछि परेन विदेश जान

सुन्तला फूल खेल्ने र बटिला लाग्ने समयमा भएको वर्षा र असिनाका कारण उत्पादन घटेको कृषकले बताएका छन्।
 |  शुक्रबार, माघ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्ष अघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए। पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले पछिल्लो दश वर्षयता सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन्।

National life

“चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ मा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैंचा बगाएको थिएँ”, उनले भने, “त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन्छ जस्तो लाग्यो।” अहिले सुन्तला खेती पेन्सनजस्तो भएको उनले बताए।

चन्दबहादुरले यस वर्ष दुई सय ५० बोटबाट दुई लाख ३६ हजारको सुन्तला बिक्री गरेको जानकारी दिए। यसअघि एकै वर्षमा चार लाखसम्मको सुन्तला बिक्री गरेको उनले बताए।

मालिका–७ बिमका ४५ वर्षीय भवीराज जुग्जालीले पनि सुन्तला खेती गर्नुअघि कामको खोजीमा २६ महिना साउदीमा बिताए। वार्षिक चार लाख हाराहारीको सुन्तला बेच्ने जुग्जालीको बगैंचामा तीन सय बोट छन्। “घरव्यवहार चलाउन, छोराछोरी पढाउन सुन्तला खेती गरेपछि सजिलो भएको छ”, उनले भने, “दुई लाख कमाउनका लागि विदेशमा गएर श्रम, पसिना बगाउनुभन्दा गाउँकै पाखाबारीमा सुन्तला खेती गर्दा फाइदा र सजिलो छ।”

सुन्तला बेचेर भएको आम्दानीले जुग्जालीले दुई छोरीलाई पोखरामा स्नातक तहमा पढाएका छन्। श्रीपाली र जुग्जालीजस्तै मालिका गाउँपालिका–७ बिममा पर्ने दुले, नराले, टुनीबोट, दोबाटो, भारवाङ, नौमानेका बासिन्दाले सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन्।

kumari

साठीभन्दा बढी घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका भरवाङका हेम पुनले बताए। “सडक, यातायातको सुविधा, भूगोल र हावापानी अनुकूल भएकाले सुन्तला खेती फस्टाएको छ”, उनले भने “कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तला खेती गर्ने क्रम बढेको छ।”

कृषक शिव गौतमका अनुसार मालिका गाउँपालिकाको वडा नम्बर ७ बाट यस वर्ष ९० लाख लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ। “गत वर्ष एक करोडभन्दा बढी मूल्यको सुन्तला निकासी भएको थियो”, उनले भने, “सुन्तला खेती गरेका घरधुरीमा पुगेर संकलन गरेको विवरणअनुसार यसपालि ९० लाखको निकासी भएको छ।”

यस वर्ष प्रतिकिलो ५५ देखि ६५ का दरले सुन्तला बिक्री भएको छ। सुन्तला फूल खेल्ने र बटिला लाग्ने समयमा भएको वर्षा र असिनाका कारण उत्पादन घटेको कृषकले बताएका छन्। पोखरा र काठमाडौँमा बिमको सुन्तला निकासी हुन्छ। गाउँकै युवाहरु मिलेर सुन्तला बजारीकरण गर्छन्। पोखराका व्यापारी पनि सुन्तला किन्न बगैंचामै आउने गरेका कृषकको भनाइ छ । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन्।

प्रकाशित: Jan 19, 2024| 16:15 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्