काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ड अर्याललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले सो प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्री दाहालले प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीर रुपमा लिन निर्देशन दिएका हुन् ।
आन्दोलनले अस्तव्यस्त प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा धरानका मेयर हर्क साम्पाङले ताला लगाइदिएपछि समस्या झन् बल्झिएको छ।