सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पृथ्वीनारायणलाई सम्झेर गोरखाबाट चन्द्रागिरी आइपुगे बिसे नगर्चीका सन्तति

पृथ्वीनारायणलाई सम्झेर गोरखाबाट चन्द्रागिरी आइपुगे बिसे नगर्चीका सन्तति

चन्द्रागिरि डाँडा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको इतिहाससँग जोडिएकोले यहाँ उनको पूर्ण कदको सालिक निर्माण गरिएको छ।
 |  शुक्रबार, पुस २७, २०८०
nespernesper

अच्युत रेग्मी

अच्युत रेग्मी

शुक्रबार, पुस २७, २०८०

vianetvianet

काठमाडौं- नेपालको एकीकरणका प्रणेता शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले नेपालको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै शाहको तत्कालीन राज्य गोरखा, सिंहदरबारको मूलढोका तथा देशका विभिन्न स्थानमा राखिएका शाहका सालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको छ तर आज काठमाडौंको चन्द्रागिरि डाँडामा भने अलग्गै र नयाँ तरिकाबाट उनको स्मरण गरिएको छ। चन्द्रागिरि डाँडा पृथ्वीनारायण शाहको नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिकस्थल भएकाले यहाँ पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक निर्माण गरिएको छ।

त्यस समय भन्ने गरिएको नेपाल खाल्डो (काठमाडौं उपत्यका) माथि विजय हासिल गर्ने प्रण पृथ्वीनारायण शाहले यही डाँडाबाट गरेको इतिहास रहेकाले चन्द्रागिरि हिल्स लिमिटेडले २०७४ मा यहाँ निर्माण गरेको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकको तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी थिइन्। सो ऐतिहासिक स्थलमा निर्मित सालिकमा आज पृथ्वीनारायण शाहको नेपाल एकीकरणका एक ऐतिहासिक व्यक्ति बिसे नगर्चीका सन्ततिले परम्परागत बाजा बजाएर नगरा लगाई उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

गोरखाबाट आएका बिसेका सन्ततिले पृथ्वीनारायण शाहकालीन समयकै जस्तो परम्परागत बाजा दमाहा, सहनई आदि बजाएर शाहप्रति नगरा अर्पण गरेर स्मरण गरेका हुन्। इतिहासविद्हरुका अनुसार बिसे नगर्ची पृथ्वीनारायणको नेपाल एकीकरण अभियानका एक जना सारथी हुन्।

गोरखाको माझकोट नजिकै बस्दै आएका बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई बौद्धिक, आर्थिक र सैन्य कर्मद्वारा सहयोग गरेको इतिहासमा पाइन्छ। त्यस समय नेपाल एकीकरणका लागि हातहतियार किन्न रकम अभाव भएको अवस्थामा नगर्चीले नै गोरखा राज्यका घरधुरीबाट प्रतिघरधुरी एक रुपैयाँ कर उठाउन सुझाउँदै आफैंले एक रुपैयाँ झिकेर राजालाई दिइ यसको सुरुआतसमेत गराएका थिए भन्ने इतिहास पाइन्छ।

National life insurance

यसरी संकलन गरिएको सो रकमबाट शाहले वनारसबाट हातहतियार किनेर ल्याएको र थप सैन्य भर्ती गरी उनीहरुका लागि हतियार किनेको इतिहासविद्को भनाइ छ। त्यसैगरी युद्धका समयमा सैनिक कपडा सिलाइदिने र विजयपछि बजाउने बाजा बनाउन र बजाउन पनि नगर्ची परिवारको योगदान रहेको थियो।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आयोजित कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपालले तथ्यहरुका आधारमा भन्दा पनि अफवाहमा विश्वास गरी इतिहासको व्याख्या हुने गरेको भन्दै राष्ट्र निर्माताप्रति राज्यले न्याय गर्न नसकेको बताए। उनले भने, 'पृथ्वीनारायणको योगदान नहुँदो हो त नेपाल आज स्वतन्त्र र सर्वभौम मुलुक नहरन पनि सक्थ्यो। जसले यो राष्ट्र बनाए र बचाए आज उनैलाई राज्यले सम्मान नगर्नु दुःखद् हो।'  

त्यसैगरी नेपालको इतिहास र संस्कृतिका अध्येता हरिप्रसाद सोडारीले वर्तमान नेपाल राज्यका प्रणेता पृथ्वीनाराण शाहप्रति देशले सम्मान प्रदान गर्दै उनको योगदानको थप अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताए। चन्द्रागिरि हिल्स लिमिटेडका पूर्व महाप्रबन्धक अभिषेकविक्रम शाह र निमित्त महाप्रबन्धक श्याम तण्डुकारले चन्द्रागिरि डाँडा नेपाल एकीकरणको इतिहाससँग जोडिएकाले यो महत्वलाई सदा जीवन्त राख्न पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको जानकारी दिए। यस दिन नेपालको इतिहास र संस्कृतिप्रति जानकारी राख्ने नेपालीहरु यहाँ आएर पृथ्वीनारायणप्रति सम्मान प्रकट गर्ने गरेका पूर्वमहाप्रबन्धक शाहले बताए।

उता गोरखाबाट आएकी बिसेकी सन्तति तिलकुमारी परियारले तत्कालीन राजालाई समेत सहयोग र सल्लाह गर्नसक्ने बिसेको योगदानकोसमेत उचित कदर हुन नसकेको गुनासो गरिन्। उनले भनिन्, 'त्यस समय राजाले दिएको लालमोहर हाम्रा साथमा छ तर हातमा केही छैन।' उनले बिसेको नाममा गोरखामा एक संग्रहालय बनाउनुपर्ने बताइन्। सो कार्यक्रममा पृथ्वीनारायाण शाहप्रति सम्मान प्रकट गर्न तिलकुमारीसहित शिवशंकर परियार, यादव परियार, पूर्णबहादुर परियार र राजु परियार आएका थिए।

उनीहरुले देशले इतिहास बिर्संदै गएको महसुस आफूहरुलाई भएकाबेला बिसे नगर्चीका सन्ततिलाई चन्द्रागिरि हिल्सले स्मरण गरी यहाँसम्म आमन्त्रण गरेकामा खुसी लागेको बताए। गोरखा माझकोटमा विसं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले नेपाल उपत्यकामाथि विसं १८२६ विजय हासिल गरेपछि आधुनिक नेपालको जग बसालेका थिए। उनको जन्मदिन पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा नेपालभर मनाउने गरिएको छ। -रासस

प्रकाशित: Jan 12, 2024| 14:43 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्