बुधबार, वैशाख १९, २०८१

मातृ शिशु मृत्युदर शून्य भएको एउटा दुर्गम गाउँ

दुर्गम हुँदाहुँदै पनि तमानखोलामा मातृ शिशु मृत्युदर शून्य छ। धामीझाँक्रीमा विश्वास राख्ने स्थानीय अहिले अस्पताल पुग्न थालेका छन्।
 |  शुक्रबार, पुस २०, २०८०

डम्मर बुढामगर

डम्मर बुढामगर

शुक्रबार, पुस २०, २०८०

ढोरपाटन- अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती। चारैतिर भिर, पहरा। एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौं लाग्ने। वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ। 

triton college

आधा दशक अगाडिसम्म सामान्य स्वास्थ्य सेवा लिनका लागि दिनैभरि लगाउनुपर्नेमा अहिले तमानखोलावासी एक गाउँबाट अर्को गाउँ पुग्न आधा घण्टा हिँडे पुगिन्छ। छोटो समयमै स्वास्थ्य क्षेत्रमा फड्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रूपमा स्थापित बन्दै गएको छ। 

दुर्गम हुँदाहुँदै पनि तमानखोलामा मातृ शिशु मृत्युदर शून्य छ। गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना हुनु, स्वास्थ्य सचेतनाका साथै शिक्षाको पहुँचलगायत कारणले यसअघि धामीझाँक्रीमा विश्वास राख्ने स्थानीय अहिले अस्पताल पुग्न थालेका छन्।

नजिकैको स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच, सुत्केरी व्यथा लाग्नु अगाडि नै बर्थिङ सेन्टर पुग्नाले पालिकामा मातृ शिशु मृत्युदर शून्यमा झरेको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताए। हरेक बस्तीका महिलालाई नियमित गर्भ जाँच गराउने तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना विकास हुँदै गएकाले मातृ शिशु मृत्युदर शून्यमा झरेको उनको भनाइ थियो। 

स्थानीय तह आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्। तीन स्वास्थ्य चौकीबाट सेवा लिँदै आएका हजारौं तमानखोलावासीलाई अहिले ठाउँठाउँमा स्थापना भएका स्वास्थ्य संस्थाले उपचारमा सहजता पुर्‍याउनुका साथै स्वास्थ्य सम्बन्धी सचेत पनि गराइरहेको छ। 

corrent noodles
Metro Mart

‘स्वास्थ्य चौकी टाढा हुँदा घरमै सुत्केरी हुने महिला अहिले बर्थिङ सेन्टरमा पुगेर बच्चा जन्माउने गरेका छन्। यसले गर्दा आमा र बच्चा सुरक्षित हुने गरेका हुन्’, स्वास्थ्य शाखा संयोजक छन्त्यालले भने। उनका अनुसार गाउँपालिकाले वडा नं १ को बोंगादोभान, वडा नं ३ को तमान, वडा नं ५ को खुङ्खानी र वडा नं ६ को आधारभूत स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालन गरिरहेको छ। 

taman_gaun1683031128.jpg
छन्त्यालले बर्थिङ सेन्टर बढाएर सेवा दिन थालेसँगै महिला गर्भ जाँच तथ नियमित स्वास्थ्य परीक्षणमा सचेत भएकाले मातृशिशु मृत्युदर शून्य भएको बताए। पहिले जनचेतनाको कमी, स्वास्थ्य संस्था टाढा हुनुलगायत कारणले धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको भन्दै अहिले स्वास्थ्य संस्थाको दायरा बढाएर समुदायसम्म स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका पुगेर जनचेतनामूलक कार्यक्रम गर्न थालेपछि समस्या अन्त्य हुँदै गएको उनको भनाइ थियो। अहिले महिलाले अस्पतालमा बच्चा जन्माउने गरेकाले घरमा सुत्केरी हुनेहरू शून्यमा झरेको उनले जानकारी दिए। 

‘पछिल्लो समय स्वास्थ्यमा धेरै परिवर्तन भएको छ। गाउँका महिला दिदीबहिनी पनि सचेत बन्दै जानुभएको छ। अहिले उनीहरूमा बिरामी भएपछि अस्पताल जानुपर्छ भन्ने चेतना विकास भएको छ। गर्भवती महिलाले नियमित गर्भ जाँच गर्ने, केही समस्या भए स्वास्थ्यकर्मीलाई फोनमार्फत जानकारी लिने गर्छन्। स्वास्थ्य स्वयंसेविकासहितको टोलीले समयमा समुदायमा पुगेर सचेत गराउने काम गरेका छौं’, छन्त्यालले भने। पहिले घरमै सुत्केरी हुनेको सङ्ख्या बढी भएकाले मातृ शिशु मृत्युदर पनि बढी भएको उनको भनाइ थियो। 

स्थानीय मनकुमारी रसाइलीले घर नजिकै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँका धेरै महिला नियमित जाँचका लागि आउने गरेको बताइन्। भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म महिलालाई सुत्केरी व्यथाले च्याप्यो भने डोकामा बोकेर अस्पताल पुर्‍याउने गरेकामा अहिले त्यो स्थिति नरहेको उनको भनाइ थियो। 

डोकामा बोकेर लैजाँदा कोहीले अस्पतालमा पुगेर बच्चा जन्माउने, कोही बाटोमै सुत्केरी हुने गरेको रसाइलीले बताए। "पहिले पहिले गाउँमा अहिलेको जस्तो बाटो नभएकाले गाडी चल्दैनथे। गाउँमा अस्पताल पनि थिएनन्। अहिले मोटर गाडीका साथै अस्पताल पनि गाउँमै आएका छन्’, उनले भने, ‘पहिला कोहीलाई सुत्केरी व्यथा लागेमा डोकामा बोकेर दिनभरि हिँडालेर अस्पताल पुर्‍याउनुपर्थ्यो। यसरी अस्पताल लैजाँदा कतिपयले बाटोमै सुत्केरी हुन्थे, कोही अस्पतालमा, कोहीको बीच बाटोमै मृत्यु हुन्थ्यो, नजिक अस्पताल भएपछि त्यस्तो घटना भएका छैनन्।’

छ वटा वडा रहेको तमानखोलामा चार स्थानमा बर्थिङ सेन्टर सञ्चालित छन्। बर्थिङ सेन्टर छवटै वडाका नागरिकका लागि पायक पर्ने स्थानमा छन्। तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आम नागरिकलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य चौकीसँगै स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको बताए। 

गाउँपालिकाले वडा नं ६ को नर्जाखानी, ४ को लाम्मेला र वडा नं २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिरहेको उनले जानकारी दिए। 

‘हामीहरू सुरुआती दिनदेखि नै यहाँको स्वास्थ्य क्षेत्रको सुधार गरेर नागरिकको जीवन रक्षा गर्नुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौं। कोही पनि नागरिक सामान्य उपचारका लागि दिनभरि लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था अहिले अन्त्य भएको छ’, अध्यक्ष बुढामगरले भने, ‘स्वास्थ्य संस्थाको विस्तार, स्तरोन्नति र प्रभावकारी सेवा प्रवाहसँगै गत वर्षदेखि एम्बुलेन्स सेवा पनि सुरु गरेका छौं।’ स्वास्थ्य संस्था तथा परामर्श केन्द्र सञ्चालनमा आएसँगै यहाँका प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको उनको भनाइ थियो।   -रासस

प्रकाशित: Jan 05, 2024| 13:57 शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्