मंगलबार, कात्तिक ३, २०८३

सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन। त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुनेछ। न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

१६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ। 

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो। सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो।

त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए। २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परेका थिए। अनुसन्धान प्रक्रिया पुरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा चलेपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

त्यसविरुद्ध सन्दीप उच्च अदालत गए। २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको। तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो।

त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे र लिग टु खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए। १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो। त्यसयता उनी राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलहरु खेलिरहेका थिए।

प्रकाशित: Dec 29, 2023| 19:07 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्