मंगलबार, फागुन १५, २०८०

स्थानीय तहसँग सहकार्य गर्दै महिला समूह

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

गोरखा- शहीद लखन गाउँपालिका–७ मास्कीछाँपस्थित ‘बौद्धनाथ कोसिस महिला कृषक समूह’ की सदस्य रीता थापामगरले अहिले ११ वटा बङ्गुर पालेकी छन्।

उनले सुरुमा नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले आयोजना गरेको १५ दिने बङ्गुरपालनसम्बन्धी तालिम लिएपछि बङ्गुरपालन सुरु गरेकी हुन्। थापामगरले यसपटकको दशैँमा तीनवटा बङ्गुर बेचेर झन्डै एक लाखको आम्दानी गरिन्। 

एड्वानले नै दिएको नेतृत्व विकाससम्बन्धी तालिम लिएपछि उनलाई निर्धक्कसँग अरूसँग बोल्न सक्ने आत्मविश्वास बढाएको छ। तालिमपछि समूहका पदाधिकारी र सबै सदस्यलाई वडा कार्यालयमा गएर आफ्नो अधिकार माग्नुपर्ने रहेछ भन्ने जानकारी प्राप्त भयो। 

सदस्य थापा मगरले भनिन्, ‘एड्वानले तालिम दिएपछि हामीले वडामा गएर बजेटको माग गरेपछि वडाले दुई लाख रुपैयाँ छुट्याइदिएको रहेछ, त्यसमध्येबाट समूहमा रहेका १८ मध्ये ११ जना सदस्यलाई दुईवटाको दरले बङ्गुरको पाठा दिएको छ।’

एउटा माउले एक पटकमा कम्तीमा १३–१४ वठा बच्चा जन्माउँछ। एउटा बच्चाको रु सात हजार पर्छ। एउटा माउले एकपटकमा बच्चा जन्माउँदा खर्च सबै कटाएर कम्तीमा रु ३० हजार जति फाइदा हुन्छ। धेरै माउ पालेर बच्चा पाठापाठी बेच्न सके धेरै फाइदा हुने उनको भनाइ छ।

Metro Mart
worldlink

समूहले अबका दिनमा वडासँग बयर बाख्रा, बङ्गुरको खोर विस्तार, व्यावसायिक बङ्गुरपालनका लागि अझै धेरै बङ्गुर नै माग्ने योजना बनाएको छ। एड्वानले शहीद लखन गाउँपालिकाको नौवटै वडामा १२ वटा समूह गठन गरेको छ।

शहीद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले अदुवा लगाउनका लागि बीउको माग, बाख्रा र बङ्गुरपालनका लागि पनि समूहका तर्फबाट माग आइरहेको जानकारी दिइन्।

गाउँपालिकाको नौवटा वटामा गठन गरिएका १२ वटा समूह नै गाउँपालिकामा दर्ता गरिएको छ। अदुवाबाट सुठो बनाउन मेसिन ल्याउन गाउँपालिकाले पहल गरिरहेको उनको भनाइ छ।

शहीद लखन गाउँपालिका–७ की तालुपाते कोसिस कृषि महिला समूहले बीउ बोकाका लागि गाउँपालिकामा प्रस्ताव पेस गरेको छ। गाउँपालिकाले समूहका तीन सदस्यलाई बाख्रा खरिद गर्नको लागि रु १५ हजार दिएको थियो। आगामी दिनमा समूहबाट माग लिएर गाउँपालिकामा जाने योजना रहेको समहूकी अध्यक्ष सन्सरा श्रीमलले बताइन्।

गण्डकी गाउँपालिका–८ तोरीसरास्थित मखमली महिला कोसिस कृषक समूहका सदस्यले अहिले बङ्गुरपालन गरेका छन्। समहूकी अध्यक्ष नानीमाया सार्कीले पनि अहिले दुईटा बङ्गुर पालेकी छन्।

अध्यक्ष सार्कीले भनिन्, 'समूहका तर्फबाट बङ्गुरपालनका लागि अनुरोध गर्दा वडाले सहयोग गर्ने बताएको छ। अब लिखित रुपमा माग गर्नेछौँ।' गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले समूहहरु गाउँपालिकामै दर्ता भएकाले सक्दो सहयोग गर्ने योजना सुनाइन्। 

यता चितवनको भरतपुर महानगरपालिका–२३ स्थित श्री महिला उत्थान कोसिस कृषक समूहले छ महिलाअघि महानगरपालिका र वडा कार्यालयमा च्याउ खेतीका लागि रु पाँच लाखको व्यवस्था गरेको छ।

भरतपुर महानगरपालिका–२५ नमूनाटोलस्थित श्री नमूना कोसिस कृषक समूहकी अध्यक्ष माया विक नेतृत्व विकाससम्बन्धी तालिम लिएपछि मिलन महिला बचत सहकारीको सदस्य भएकी हुन्।

'तालिम दिएपछि अन्यायको विरुद्धमा बोल्नुपर्ने रहेछ, नेतृत्वमा आउनुपर्ने रहेछ भन्ने लाग्यो, त्यसपछि अहिले सहकारीमा सदस्य भएकी छु, आगामी कोषाध्यक्ष, सचिव र अध्यक्ष हुने योजनामा छु', उनले भनिन्। जुनसुकै संस्थामा पनि नेतृत्व गर्न अग्रसर हुनुपर्ने रहेछ भन्ने उनको अनुभव छ।

भरतपुर नगरपालिका–२५ कै नमूना कोसिस कृषक समूहकी सदस्य देवी भुसाल नमूना टोल विकास संस्थामा पहिला सचिव मात्रै रहेकी थिइन्। एड्वानले तालिम दिएपछि उनलाई अगाडि बढ्नुपर्ने रहेछ, संस्थाको नेतृत्व गर्नुपर्ने रहेछ भन्ने लागेर अहिले उपाध्यक्षको जिम्मेवारीमा रहेकी छन्।

उनी मिलन महिला बचत ऋण तथा सहकारी संस्थाको ऋण समितिको संयोजक छिन्। यी दुवै संस्थाको नेतृत्वमा पुग्ने उनको चाहना छ।

रत्ननगर नगरपालिका–१५ स्थित महिला जनशक्ति कोसिस कृषक समूहकी सचिव चद्रिकादेवी केशीलाई पनि एड्वान नेपालले नेतृत्वसम्बन्धी तालिम लिएपछि अहिले बूढीकुला सुकुम्वासी टोल विकास संस्थाको कोषाध्यक्ष छिन्। 

नेतृत्व विकासका तालिम लिएपछि सुकुम्वासी जग्गाको लालपुर्जा प्राप्तिका लागि पनि पहल गर्दै आएको उनको भनाइ छ। वडाध्यक्ष आशिक तामाङले शीतलशील र चेतनाशील दुईवटै समूहलाई सक्दो सहयोग गरेको जानकारी दिए।

एड्वानद्वारा गठित समूहलाई भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले रु १३ लाख ४३ हजार नगद र विभिन्न मेसिन सहयोग गरेको छ। त्यसैगरी, शहीद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाले पनि समूहका निम्ति रु नौ लाख ९५ हजार नगद र विभिन्न सामग्री र १७ वटा बाख्रा सहयोग गरेको छ।

भरतपुरमा १३, रत्ननगरमा १२, शहीद लखनमा १२ र गण्डकीमा १२ गरी ४९ वटा महिला समूह गठन गरेर कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिएको छ।    -सुशील दर्नाल

प्रकाशित: Dec 06, 2023| 05:41 बुधबार, मंसिर २०, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्