शनिबार, साउन १२, २०८१

तीन पटक म्याद थप्दासमेत भएन कालोपत्रे

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

गलकोट- ठेक्का सम्झौताअनुरूप काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोटसम्मको १४ किलोमिटर कालोपत्रे भइसकेको हुन्थ्यो। विसं २०७६ असोज २८ गते दुई वर्षभित्र सो क्षेत्रीय रिङ्गरोड सडक कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको थियो। तर सम्झौता भएपछि तीन पटक म्याद थप्दासमेत सकिएको छैन। 

triton college

अहिले उक्त सडकमा पूर्वाधारको काम सकेर ग्राभेल गरिएपछि यात्रुलाई धुलोले सास्ती बनाएको छ। उक्त सडकमा १० महिनायता काम ठप्प छ। तीनपटकसम्म म्याद थप्दासमेत सडक कालोपत्रे नहुँदा यहाँका स्थानीय आक्रोशित भएको बागलुङ नगरपालिका-५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले बताएका छन्। 

अध्यक्ष शर्माले दुई वर्षदेखि कालोपत्रेका लागि आवश्यक ग्राभेल छरेर छोडेको सडकमा कालोपत्र नहुँदा समस्या भएको बताए। ‘कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने रिङ्गरोड सडक कालोपत्रे भए धेरैलाई सहज हुनेथियो, तर सडकको काम दुई वर्षदेखि अघि बढ्न सकेको छैन, निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ,’ शर्माले भने, ‘ढिलै भए पनि कालोपत्रे भइदिए शालग्राम सङ्ग्रहालय र पञ्चकोटमा आउने पर्यटकलाई समेत सहज हुनेथियो।’

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत रु ३१ करोड लागतमा १४ किमी सडक कालोपत्रे गर्न थालिएको भए पनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक अलपत्र जस्तै बनेको छ। 

ग्राभेल बिच्छ्याएको सडकमा खाल्टा पर्ने, धुलो उड्ने र सवारीसाधन दुर्घटनामा पर्ने जोखिमसमेत भइरहेको छ। दुई वर्षमा सकिने ठेक्का चार वर्ष बित्दासमेत ७६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। अन्तिम पटकलाई आगामी चैत मसान्तसम्म म्याद थपेर निर्माण व्यवसायीलाई काममा बोलाइएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ। 

Metro Mart
vianet

कोरोनाका कारण सरकारले म्याद थप गर्न निर्देशन दिएपछि मात्रै निर्माण कम्पनीलाई म्याद थपिएको हो। क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्रका लागि पूर्वाधारको काम तत्कालीन समयमा धमाधम भए पनि दुई वर्षदेखि कालोपत्रे नभएर काम ठप्प भएपछि सडक झनै बिग्रिएको छ। ठाउँ–ठाउँमा पहिरो खसेर झनै समस्या बनाएको छ।  

कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्रे गर्नका लागि तत्कालीन गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटामार्फत बजेट विनियोजन भएको थियो। 

उक्त सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न लागिएको भए पनि समयमै तीनपटक म्याद थप्दासमेत नसकिएको हो। गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजनाअनुरूप स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम थालिएको थियो।  -रासस

प्रकाशित: Dec 05, 2023| 21:41 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्