काठमाडौं- वन तथा वातावरणमन्त्री डा. विरेन्द्रप्रसाद महतोले कोप-२८ मा नेपालको हिमालको मुद्दालाई स्थापित गर्न सफल भएको बताएका छन्।
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी कोप- २८ मा सहभागी वन तथा वातावरणमन्त्री डा. महतोले नेपालको हिमालको मुद्दालाई विश्वभरका राष्ट्र प्रमुख तथा प्रतिनिधिमण्डलका प्रमुखहरुले नेपालको हिमालको मुद्दालाई प्राथमिकता दिएको र नेपालको हिमालको मुद्दालमई स्थापित गर्न सफल भएको बताएका हुन्।
उनले भने, 'यसपटक कोप-२८ का लागि हामीले ६ महिना पहिलेदेखि नै तयारी गरेका थियौं। र, हाम्रो हिमालको मुद्दालाई विस्तृतरुपमा संसारका राष्ट्र प्रमुखहरुले विशेष प्राथमिकतासाथ उठाउनुभएको छ र यो स्थापित गर्न सफल भएका छौं।'
वनमन्त्री डा. महतोले यसपटक नेपालको राजनीतिक र प्राविधिक तहबाट एउटै आवाज भएको र कोप- २८ को चर्चाले पनि व्याकता पाएकोले यसको महत्त्व बढेको समेत बताएका छन्।
कोप-२८ का विभिन्न मुद्दामा हुने वार्ताहरुमा नेपालले कुनै पनि नछुटाउने उल्लेख गर्दै भने,'सबै वार्ताहरुमा नेपालको प्रतिनिधित्व हुन्छ र हाम्रा कुराहरु राख्छौं।'
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालका हिमालले विश्वव्यापी सेवा दिइरहेको उल्लेख गर्दै तत्काल हिमाल जोगाउन विश्वको ध्यानाकर्षण गराएका थिए।
त्यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि नेपालका हिमालहरु पग्लिनेक्रम बढ्नाले संकट गहिरिँदै गएको बताएका थिए।