गोरखा- गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ।
यस्तै, ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहामा ट्रकको ठक्करबाट सोही नगरपालिका–५ का ३५ वर्षीय मोहमद हारुनको घटनस्थलमा नै मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो। ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।