शनिबार, वैशाख १२, २०८३

डेढ दशकदेखि बन्द ढुंगाखानी सञ्चालनको माग

 |  शनिबार, मंसिर १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १६, २०८०

पर्वत- लामो समयदेखि बन्द पर्वतको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन्। विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन्। विशेष गरी यहाँको ढुङ्गा घर छाउन, बिच्छ्याउन र स्लेटका रुपमा प्रयोग हुने गरेको छ भने विभिन्न स्थानबाट पनि माग हुने गरेको छ। 

National life

मोदी गाउँपालिकाको तीन वटा वडा क्याङ, देउराली र भुकताङलेमा माटेको लेकमा रहेको ढुङ्गा खानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सान बेहोर्नुपरेको छ। देउराली, क्याङ र भुकताङका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको थियो। तत्कालीन समयमा खानीमाथि सबैले आ–आफ्नै दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको क्याङ गाविसका पूर्वगाविस अध्यक्ष नरसिंह पुनले बताए। ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो। 

तत्कालीन समयमा खानी सञ्चालनका लागि तीन गाविसका दुई दर्जनभन्दा बढी मजदुरले प्रत्यक्षरुपमा रोजगारी पाएका थिए। यहाँका खानीबाट निकालिएका ढुङ्गा धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दीका विभिन्न स्थानमा खपत हुने गर्दथे। 

खानीबाट ढुङ्गा उत्खनन् बन्द भएपछि ढुङ्गा सङ्कलन गरेर बिक्री गर्दै आएको भानेबहादुर विकको परिवारले अर्को विकल्प खोज्नुपरेको छ। विकले खानीमा १० वर्षसम्म काम गरे पनि खानी बन्द भएपछि भने बेरोजगार हुनुपरेको गुनासो गरे। यहाँका ढुङ्गा घर, गोठ, मतान छाउन प्रयोग हुँदै आएका छन्। यहाँको खानीबाट निकालिने ढुङ्गा जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ हुने भएकाले ढुङ्गाको माग बढेको हो। 

सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा पाँच वटा ढुङ्गा खानी छन्। ढुङ्गाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई पुस्तासम्म छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनको भनाइ छ। 

kumari

मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले खानी सञ्चालन गर्न पहल भइरहेको बताए। सुरुमा खानीसम्म सडकको पहुँच पुर्‍याउने योजना बनाएको बताउँदै सडक पुगेपछि खानी सञ्चालन गर्न डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकायसँग पहल समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ।

प्रकाशित: Dec 02, 2023| 09:28 शनिबार, मंसिर १६, २०८०
प्रतिक्रिया दिनुहोस्