काठमाडौं- खानेपानीमन्त्री महिन्द्रराय यादवले शुक्रबार मेलम्चीको पानी काठमाडौं पठाउन तीव्रगतिमा काम भइरहेको भन्दै काठमाडौंबासीलाई आश्वस्त पारे।
निर्माण कार्य सम्पन्न नहुँदै हतारोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गराए। हतारोमा उद्घाटन गराइएको मेलम्ची खानेपानी आयोजनाबाट केही दिन काठमाडौंबासीले पानी पाए पनि त्यसपछि भने निरन्तर समस्या आइरहेको छ। यद्पि उद्घाटनको ३२ महिनापछि पनि मेलम्चीको आश्वासन बाँड्न भने नेताहरुले छोडेका छैनन्।
दुई दशक समय र ३५ अर्ब रुपैयाँ खर्च गरेर बनेको राष्ट्रिय गौरवको आयोजना पूर्ण नहुँदै आफ्नो पालामा काठमाडौंमा पानी ल्याएको भन्ने सुनाउनका लागि हतारोमा उद्घाटन गरिएको मेलम्ची आयोजनामा पटक-पटक समस्या आउने गरेको छ।
हरेक राजनीतिक दलको चुनावी एजेण्डा र ओठे नाराजस्तो बनेको मेलम्ची खानेपानी आयोजना उद्घाटनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अब काठमाडौंबासीले पानीको समस्या भोग्न नपर्ने बताएका थिए।
तर, आयोजना उद्घाटनको २१ महिनापछि एशियाली विकास बैंकले क्यानडेली कम्पनीमार्फत् गरेको एक अध्ययन अनुसार काठमाडौंमा १२ महिना नै पानी पुर्याउनका लागि बाँध नै नयाँ बनाउनका लागि सुझाएको छ। एडीबीको सुझावपछि त्यही ठाउँ प्रयोग गरेर पानी ल्याउन काठमाडौंमा पानी पुर्याउन नसकिने निष्कर्ष आएको मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिएका छन्।
उनले थपे, 'त्यसको विकल्प भनेको ‘इनटेक’ सार्नुपर्छ भन्ने छ। ४०० देखि ५०० मिटर थप सुरुङ बनाएर सर्कसथलि भन्ने ठाउँमा दुवैपट्टि ढुङ्गा भएको स्थान फेला परेको छ। त्यसलाई प्रयोग गर्न सकिन्छ भन्ने हो। ‘इन्टेक’ चाहिँ सार्नै पर्छ भन्ने अध्ययनले देखाएको छ। उनीहरूको (विज्ञहरूको) निष्कर्ष हो। लगभग ४०० देखि ५०० मिटर सुरुङ निर्माण गर्न र सानो बाँध निर्माण गर्न ३ देखि ४ अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान समितिको छ।'
तर, राजनीतिक दलका नेता तथा मन्त्रीहरुले भने अझै काठमाडौंमा पानी पुर्याउने आश्वासन बाँड्न भने छोडेका छैनन्। मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथानलगायतको क्षेत्रको स्थलगत अनुगमन पुगेका मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौं पठाउन तीव्रगतिमा काम भइरहेको बताए। यद्पि उनले एडीबीको अध्ययन प्रतिवेदन र समितिको सुझावलाई बेवास्ता गर्दै अब मेलम्चीलाई कसरी सुरक्षित गर्ने र दीगोरुपमा काठमाडौंबासीलाई पानी कसरी पुर्याउने भन्ने विषयमा भने ध्यान दिएनन्।