आइतबार, वैशाख १३, २०८३

ड्युटीमा रहेका प्रहरीलाई मोबाइल चलाउन रोक

 |  शुक्रबार, मंसिर १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १५, २०८०

कर्णाली- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाइल प्रयोग गर्न नपाउने बताएका छन्।

National life

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले जानकारी गराए। प्रहरी नायब महानिरीक्षक ढकालले भने, 'कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम ल्याइएको हो।' 

उनका अनुसार टोली कमाण्डरको हकमा यो नियम लागू हुने छैन। जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गर्न यो व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए।

कर्तव्य पालनाको सिलसिलामा मोबाइल नचालाउँदा आपराधिक गतिविधिको उच्च निगरानी गर्न सकिने, अपराध भएमा तत्काल अनुसन्धान हुने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने जनाइएको छ। 

प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च बचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन-नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए। उनका अनुसार यसका लागि प्रभावकारी ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ। 

kumari

प्रकाशित: Dec 01, 2023| 08:51 शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्