बिहीबार, असार २५, २०८३

माथिल्लो अरुण प्रभावितले पाए सवा दुई अर्ब मुआब्जा

 |  शुक्रबार, मंसिर १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १५, २०८०

भोटखोला- संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा २ अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ। 

आयोजनाका लागि भोटखोलामा २ हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिएको छ। आयोजनाका प्रभावित क्षेत्रका लागि २ अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए। 

आयोजना प्रभावित क्षेत्रका ३१९ घरमध्ये २९८ घरधनीलाई मुआब्जा वितरण गरिसकेको आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए। आयोजनाबाट ७८८ का ३१९ घर प्रभावित छन्। आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयवासीले मुआब्जा पाउने छन्।    

उत्तर–दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको, तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ। जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्ब २६ करोड छ। सन् २०२४ को मध्यदेखि आयोजनाको निर्माण सुरु हुनेछ। काम सुरु भएको ६ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ। 

पहुँच मार्ग निर्माण सुरु
आयोजनाको पहुँच मार्ग निर्माण थालिएको छ। नेपाल विद्युत् प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ। 

पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने छ। भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमाफेदीसम्मको पहुँच मार्ग निर्माण गरिनेछ।

प्रकाशित: Dec 01, 2023| 06:02 शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्